रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली


६ साउन, काठमाडौं । वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । नेपाली कलासाहित्य क्षेत्रका पुराना हस्ती ८५ वर्षीय नेपालीले आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अन्तिम सास लिएका हुन् ।

मुटु र श्वासप्रश्वाससम्बन्धी समस्यासँग जुधिरहेका उनलाई दुई साताअघि चिरायु अस्पतालले गंगालाल अस्पताल रेफर गरेको थियो । गंगालालबाट अस्ति सोमबार उनलाई टिचिङ अस्पताल सारिएको थियो । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुई छाेराछाेरी अमेरिकामा रहेकाले उनीहरू आइसकेपछि पशुपतिमा अन्तिम संस्कार गरिने पारिवारिक स्राेतले बतायाे ।

कलाकार नवीन्द्रमान राजभण्डारीले आधुनिक नेपाली कलासाहित्यको शिखर व्यक्तित्वको निधनले यो क्षेत्रलाई ठूलै क्षति पुगेको बताए । ‘उहाँ बहुआयामिक हुनुहुन्थ्यो । गीतकार, अभिनेता, संगीतमर्मज्ञ उहाँका अनेक परिचय छन्’, नवीन्द्रमानले भने, ‘उहाँका ‘उत्तम नेपालीका कविताहरू’ २०६१ मा प्रकाशित भएकाे थियाे ।’

उत्तम नेपालीले कला क्षेत्रमा विभिन्न उपनाम पाएका छन् । धेरैले उनलाई ‘क्यानभासका बादशाह’ पनि भन्छन् । उत्तम नेपालीको वास्वविक नाम उत्तमप्रसाद कर्मचार्य हो । पछि उनले आफ्नो नाम छोट्याएका थिए ।

कलाकार राजन काफ्लेले ललितकला क्षेत्रले एक अभिभावक गुमाएको बताए । ‘कलासाहित्यमा उहाँको योगदान चिरस्मरणीय रहने छ । उहाँको निधनले हामीलाई स्तब्ध तुल्याएको छ’, काफ्लेले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको