४ साउन,महोत्तरी। साउन महिनाको सोमबारको पहिलो दिन आज । हिन्दू नारीहरु आजका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्दछन् ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा न.१० टुटेश्वर स्थित टुटेश्वरनाथ महादेव शिवालयमा आज विहानैदेखि पूजापाठ गर्ने भक्तजनहरुको भीड लागेको छ । हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाको घुईंचोले वातावरणमा चमक थपिएको छ ।
साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ । यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।
सोमबारको व्रत विवाहित महिलाले पतिको लामो आयुको कामना गर्दै व्रत बस्छन् भने अविवाहिताले सुयोग्य वर पाउँ भन्ने कामना गर्दै ब्रत बस्ने गर्दछन् । यसवर्षपनि कोरोना त्रासका कारण पशुपतिनाथ बन्द रहेको छ ।
के छ महत्व
धर्म ग्रन्थहरूमा उल्लेख गरिए अनुसार साउन महिनालाई एकदमै पवित्र महिनाको रूपमा मानिन्छ । साउन महिनामा भगवान शिव पृथ्वी भ्रमण गर्न आउने हुनाले साउन महिनामा शिव भगवानको पुजा आराधना गरिन्छ ।
साउन महिनाको सोमबार ब्रत बसेर विधिपूर्वक शिव भगवानको पुजा गर्नाले मनोकामना पुरा हुने, दीर्घायु, सुख, शान्ति, एश्वर्य, धन धान्य र मान सम्मान प्राप्ती हुने विश्वास गरिन्छ । विशेषगरी विवाहित महिलाहरूले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहित महिलाहरूले सुयोग्य वरको कामना गरी ब्रत बस्ने गर्दछन् ।
कहिलेदेखि सुरू भयो ब्रत बस्ने चलन
साउन महिनामा सेमबारको दिन ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरू भएको ग्रन्थहरूमा उल्लेख गरिएको छ । श्रावण महिनालाई धार्मिक दृष्टिकोणले पनि उत्तम र पवित्र मानिन्छ ।
किन लगाइन्छ रातो, हरियो र पहेँलो
भगवान शिवलाई हरियो, रातो र पहेँलो रङ्ग मनपर्ने मान्यता भएकाले श्रावण महिनाको सुरूवात भएसँगै महिलाहरूले हरियो रङ्गका वस्त्र र चुरा पोतेहरू लगाउने गर्दछन् । हरियो रङ्गलाइ सौभाग्यको रङ्ग पनि भनिन्छ ।
श्रावण महिना हरियालीको महिना र प्रकृतिसँग आफुलाई जोड्ने महिना रहेकाले हरियो रङ्गका कपडाहरू लगाएर प्रकृतिसँग नजिक हुने गरिन्छ । जसले गर्दा प्रकृतिको साथ रहने र भाग्यमा समेत सकारात्मक प्रभाव पर्ने मान्यता रहेको छ ।