
२९ असार महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुजिताको हत्या तथा शव लुकाउनेमा संलग्न देवर रुपेश सहित चारजनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका पतिराम ठाकुरका छोरा २९ वर्षीय रुपेश ठाकुर, रामचन्द्र मण्डलका छोरा बर्ष ३७ का बण्ठा भन्ने किशोरी मण्डल, हकिम कवारीका छोरा बर्ष ३३ का मुल्ला भन्ने आदम राईन, रामचन्द्र मण्डलका छोरा बर्ष ३२ का नथुनि मण्डल रहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
रुपेश सुजिताकी देवर हुन् । सुजिताको हत्यामा देवर रुपेशको मात्र संलग्नता देखिएको डीएसपी विष्टले बताए । अन्य तीनजनाको शव स्थानान्तरण गरी लुकाउनेमा संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
सुजिताकी श्रीमान ३१ वर्षीय मुकेश ठाकुरको घटनामा कुनै संलग्नता नदेखिएपछि उनलाई छाडिएको छ । उनलाई सुजिताकी बुबा पीपरा गाउँपालिका वडा नं। ६ रतौली बस्ने कामेश्वर पाण्डेलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ