२८ असार । झापाकी २५ वर्षीया सिर्जना बस्नेतको मृत्यु शंकास्पद देखिएको झापा प्रहरीले जनाएको छ।
घरको मुख्य गेट र सुत्ने कोठा बन्द हुनु, अनि युवतीको शव सडकमा अर्धनग्न अवस्थामा फेला पर्नुले घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गको बिर्तामोड नगरपालिका(५ स्थित सुगम पेट्रोल पम्प उत्तर बस्दै आएकी युवती बस्नेतको शव सोमबार बिहान घर अगाडिको सडकमा अर्धनग्न अवस्थामा फेला परेको थियो।
सानिमाको घरमा सपरिवार बस्दै आएकी उनी सहकारी संस्थामा कार्यरत थिइन्। परिवारका सदस्य अनुसार उनी राति आफ्नो कोठामा सुतेकी थिइन्। चारतले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरीरमा भित्री कपडा मात्रै छ। पेन्टी घुँडामा देखिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
बस्नेत सुतेको कोठा बाहिरबाट चाबी लगाइएको छ, युवती त्यही कोठाको मुनी फेला परेकी छन्। सो घरको चारै तलामा तलैपिच्छे चाबी लगाइएको थियो र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चाबी लगाएको थियो। घरको मुख्य गेट समेत बन्द भएको अवस्थामा युवतीको शव कसरी सडकमा फेला पर्यो भन्दै झापा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ।
‘युवतीको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ,’ डिएसपी थापाले भने, ‘घटना शंकास्पद भएकोले धरानबाट तालिम प्राप्त कुकुर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फोरेन्सिक चिकित्सक टोली मगाएर अनुसन्धान गरेका थियौँ।’
फोरेन्सिक चिकित्सक टोलीमा दुई महिला र एक पुरुष चिकित्सक आएका र उनीहरूले घटनास्थलमै शवको बाहिरी जाँच गरेका थापाले बताए। शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले जानकारी दिए। भने , ‘पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप बाहिर आउँछ, अहिले हामी घटनाको सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौँ।’
स्थानीय र युट्युबरको अवरोध
यता प्रहरीले युवतीको शव उठाउन खोज्दा स्थानीयवासी र युट्युबरले केही समय अवरोध गरेका थिए। स्थानीयवासी र युट्युबरले अवरोध गरेपछि केही समय घटनास्थल तनावग्रस्त बनेको थियो।
युवतीको शव फेला परेपछि आफन्त तथा स्थानीयबासीसँगै घटनास्थलमा युट्युबरहरू पनि भेला भएका थिए।
प्रहरीले शवको अनुसन्धानका लागि घेरा हालेको स्थानतर्फ नजान युट्युबरहरूलाई रोक्न खोज्दा दुवै पक्षबीच विवाद भएको थियो। प्रहरीले घटना अनुसन्धान गरिरहेको अवस्थामा युट्युबरहरूले घटनास्थललाई उत्तेजित बनाएपछि भेला भएका स्थानीयले शव उठाउन नदिने भन्दै प्रहरीविरुद्ध चर्को नाराबाजी गरेका थिए।
‘प्रहरीले मुचुल्का गरी पोस्टमार्टमका लागि शव उठाएको गाडीमा स्थानीयको भीडले अन्धाधुन्द ढुंगा प्रहार गर्न थालेपछि घटनास्थल झन् बिग्रियो,’ डिएसपी थापाले भने, ‘स्थानीयवासी तथा युट्युबरले वातावरण बिगार्ने प्रयास गरे, ढुंगा प्रहार गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेर सबै तितरबितर बनायो।’
घटना उत्तेजित बनाउने चार जनालाई प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको उनले जनाए।