
२७ असार । खाने तेलको मूल्य आठ महिनादेखि निरन्तर उकालो लागेको बल्ल घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेलको मूल्य घटेको उद्योगीहरुले बताएका छन् ।
पछिल्लो दुई सातामा भटमास र सूर्यमूखी तेलको बजार मूल्य प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म सस्तो भएको उद्योगी कुमुद दूगडले बताए ।
सूर्यमुखी र भटमासको तेलको कच्चा पदार्थ एक मेट्रिक टनमा तीन सय डलरसम्मले सस्तो हुँदा तेलको खुद्रा मूल्य घटेको उनले बताए ।
नेपालमा भारत, ब्राजिल, अर्जेन्टिनालगायतका देशबाट खानेतेल उत्पादनका लागि कच्चा पदार्थ ल्याइन्छ । ‘तेलको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारको मूल्य नै मुख्य कारण हो, आठ महिनाको महंगो मूल्य अब ओरोलो तिर लागेको छ,’ स्वस्तिक आयलका उत्पादक दुगडले भने ।
नेपाल खुद्रा ब्यापार संघका अनुसार यस अघि प्रतिलिटर २६५ देखि २७० रुपैयाँ रहेको सूर्यमुखी प्रशोधित तेलको मूल्य २३५ देखि २४० मा झरेको छ । सूर्यमुखी तेल प्रतिलिटर २३५ रुपैयाँसम्म बिक्री गर्न सकिने मूल्य होलसेलबाट आएको संघका कार्यकारणी सदस्य ध्रुव अधिकारीले बताए । यस्तै २५५ देखि ६० रुपैयाँमा बिक्री भइरहेको भटमासको तेलको मूल्य २२० रुपैयाँमा झरेको छ ।
यस अवधिमा भटमासको तेल लिटरमा ४० रुपैयाँ सस्तो भएको अधिकारीले बताए । भटमास र सूर्यमुखी तेलको मूल्य घटेपनि तोरीको तेलको भाउमा भने कुनै परिवर्तन नआएको संघले जनाएको छ । तोरीको तेलको भाउ प्रतिलिटर तीन सय रुपैयाँ हाराहारी छ ।
तेलको भाउ घटेको विषय जानकारीमा आएको वाणिज्य विभागले जनाएको छ । ‘मूल्य घटेको जानकारी उद्योगीहरुले गराएका छन्, बजारमा २० देखि ४० रुपैयाँसम्म खुद्रा मूल्य घटेको पाएका छौं,’ विभागका प्रवक्ता शिवराज सेढाईंले भने ।