सञ्चारकर्मी लामाले गरिन असहाय किशोरीको उद्धार


निकेश खनाल
२१ असार महोत्तरी । महोत्तरीको बर्दिबासबाट सञ्चारकर्मी रिता लामाले एक असहाय किशोरीको उद्धार गरेकी छिन् ।

पब्लिक टुडे पब्लिकेशन प्रा।लिद्वारा सञ्चालित द पब्लिक टुडे डटकम अनलाइनको न्यूज डेस्कमा कार्यरत रहेकी लामाले गत बुधबार रौतहटको श्रीनगरबाट आएकी एक १७ वर्षीय प्रियंका महतोलाई बर्दिवासस्थित सामुदायिक रेडियो दर्पण ८८।४ मेघाहर्जबाट उद्धार गरेकी हुन् ।

सोहि रेडियोमा समेत कार्यरत सञ्चारकर्मी लामाले काम खोज्दै आएकी ति किशोरीलाई उद्धार गरेर सर्लाहीको हरिवन नगरपालिकास्थित मानव सेवा आश्रममा पुर्याएकी हुन् ।

को हुन् प्रियंका महतो

प्रियंका रौतहटको श्रीनगरबाट आएकी एक अनाथ किशोरी हुन् । जसको यो संसारमा कुनै सहारा छैन । कक्षा ९ मा अध्यानरत उनी हिन्दी भाषा मात्रै बोल्छिन र बुझ्छिन । हेर्दा उनी पूर्णतः एक भारतीय नागरिक जस्तै देखिन्छिन । भारतमा बस्दै गर्दा बाबु र भाईको मृत्यु भएपछि आफू आमासँगै रौतहटको श्रीनगर आएर एक झुप्रो बनाइ बस्दै आएको उनको भनाई छ ।

कष्टपूर्ण जिन्दगी झैल्दै जाँदा एक वर्ष अघि उनीमाथि अर्को बज्रपात आइलाग्यो । उनको सहाराको एकमात्र डोरी आमाको पनि मृत्यु भयो र उनी झन बेसहारा भइन् । आमाको मृत्यु पछि आफ्नो घरमा बस्न नसकेर काजोल भन्ने साथीको घरमा बस्न थालेको उनले गहभरी आँसु पार्दै सुनाइन् । तर त्यहाँ साथीको दाजुभाइबाट आफूलाई असुरक्षित महसुस भएपनि उनी केहीदिन अघि मात्रै भागेर महोत्तरीको गौशलासम्म आइपुगिन् ।

रेडियोहरु खुब सुन्ने उनी रेडियो कार्यक्रम प्रस्तोताको नाम पनि सजिलै भन्न सक्छिन् । रेडियोमा अरु मज्जाले बोलेको सुनेर आफू पनि बोल्न सक्छु भन्ने लागेर उनी गौशलाका रेडियोहरुमा चाहर्न थलिन् । तर कुनै रेडियोले उनलाई काम दिन सकेनन् । त्यसपछि उनी बर्दिबास आइन् । यहाँ आएर रेडियो बर्दिबास र सामुदायिक रेडियो सुनगाभामासमेत काम माँग्न पुगिन, ती रेडियोहरुले पनि उनलाई काम गर्न नदिई फर्काइदिएपछि उनी गौरीडाँडा चढेर रेडियो दर्पणसम्म पुगेको बताउँछिन् । रेडियो दर्पणकी पत्रकार रिता लामाले उनलाई आफू पनि कर्मचारी भएको र काम दिन नसक्ने बताइन् साथै उनले कर्मचारीको आवश्यकता नरहेको समेत भनिन । तर प्रियंका उभिएको ठाँउबाट कहिँ हिँड्न सकिनन् ।

उनले उभिएरै लगातार कामको याचना गर्न थालेपछि आफूले रेडियोमा पहिला काम गरेरनगरेको बरेमा आफूले सोधेको रिता बताउँछिन् । जवाफमा उनले आफूले कहिँ काम नगरेको र काम नआउनेसमेत बताएकी थिइन् । तर काम गर्न सिकाइदिए आफूले मज्जाले रेडियोमा काम गर्ने ती युवतीको भनाई थियो । यसपछि पत्रकार लामाले उनको व्यक्तिगत जीवनबारे बुझ्दा आफूले उनी बेसहारा भएको थाहा पाएको रिताको भनाई छ । रिता भन्छिन्, प्रियंकाले भिक माँगेकी थिइनन् । बेसहारा भएपछि गरिखान काम माँगेकी थिइन । पत्रकार लामाले उनलाइ काम भन्दा बढि सहारा चाहिएको बताइन् ।

भन्छिन्, ‘परिवारको एक —एक सदस्य गुमाएकी उनी मानसिक रुपमा विक्षिप्त थिइन् । १७ वर्षको कलिलै उमेरमा उनको सहारा, खुशी, घरबार, शिक्षादिक्षा, पालनपोषण सबै खोसिएको थियो । प्रियंकाको दारुण जिन्दगीले लामालार्इ चसक्क छोयो । त्यसपछि उनी भित्रको मानवता जागरुक भयो । र उनका लागी केही गर्न सकिन्छ की भन्ने विचार मनमा आयो ।’

कसरी पुगिन मानव सेवा आश्रममा

लामाले भनिन्, ‘केटी मान्छे भएकाले उनको कुरा सुनेर फर्काउन सकिनँ, काल जमाना ठिक छैन, घरमा असुरक्षित छोरीहरु बाटोमा झन के सुरक्षित होलान भन्ने लागेर उनलाई दिनभर रेडियोमै राखेँ । उनलाई कही सुरक्षित स्थानमा पुर्याउन सकिन्छ कि भन्ने सोचले मैँले बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्कीसँग कुरा गरेँ । इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी विरेन्द्र थापासँग कुरा गरेँ, उहाँहरु संबैजना मलाई सहयोग गर्न तयार हुनुभयो ।’

उनले स्मरण गरिन्, ‘इप्रकाका डिएसपी साबले नै मलाई हरिवनको मानव सेवा आश्रमको बारेमा बताएर त्यहाँको फोन नम्बर दिनुभयो । मैले त्यहाँको म्यामसँग कुरा गरेपछि उहाँले एचआइभी र कोरोना टेस्ट गरेर नगरपालिकाको सिफारिस लिएर आउनु हामी ती नानीलाइ राख्छौँ भन्नु भयो । त्यसपछि निकै ढुक्क र आश लाग्यो । मैँले त्यसै क्रममा रेडियोको म्यानेजर ९पत्रकार० रामनारायण महतोलाई सम्पर्क गरेँ । उहाँलाई यसबारे भन्दा उहाँ पनि सकारात्मक देखिनु भयो । सरलाई मैँले त्यसैदिन ती नानीको एचआइभी र कोरोना टेस्ट गराउँछु भने । उहाँले यसबारे बर्दिबास अस्पतालको चिकित्सकसँग बुझ्दा कोरोना भोलिपल्ट पनि टेस्ट नहुने बताउनु भयो तर हाम्रो जस्तो घटनका लागि भोलि पठाइदिनु भनेपछि म ती नानीलाई भोलिपल्ट बिहान १० बजे बर्दिबास अस्पताल लगेर स्वाब दिन लगाएँ ।

त्यसपछि जनसेवा हस्पिटल बर्दिबासमा आएर एचआइभी टेस्ट गराउँदा नगरपत्रकार सञ्जाल बर्दिबासका अध्यक्ष विक्रम प्रसाद रौनियारले निःशुल्क एचआइभी टेस्ट गराउने वातावरण बनाइदिनु भयो । नानीको अवस्था देखेर माया लागेर उनलाई केही पैसा सहयोगसमेत दिनु भयो । हाम्रो भाग्य उनको दुवै रिपोर्ट नेगेटिभ आयो ।
त्यसपछि हामी नगरपालिका पुग्यौँ, मेयर साबले हाम्रो कुरा ढिला नगरी सुनिदिनु भयो । र एउटा सिफारिस बनाउन भन्दिनु भयो । यसैबिचमा नगरपालिकाका एकजना कर्मचारीले मेयर साबसँग हामीले कुरा गरेको सुन्नु भएको रहेछ । उहाँले पनि नानीलाइ केही रकम सहयोग गर्नुभयो । नगरपालिकाको सिफारिस बनाइसकेपछि मैले नानीलाई दुइजोर फेरफार कपडा किनिदिएँ । सबै काम सकेर हामी माथि डाँडा चढ्यौँ । बिहान खाजा खाएर मात्रै हिँडेका थियौंँ । रेडियो पुगेर खाना खायौं । नानीले लगाएको लुगा धोएर मैले किनिदिएको लुगा लगाइन् ।’

शुक्रबार दिनभर पानी पर्यो । कागजपत्र सबै ठिकठाक पारिसकेका थियौं । रेडियो दर्पणका स्टेशन म्यानेजर रामनारायण सर पानीको बिचमा पनि जनकपुरबाट आउनुभयो । यहाँबाट साँढे ३ बजे गाडी रिजर्भ गरेर गयौं । तीन दिन बसेर उनलाई मानव आश्रम छोड्न मन थिएन । तर उनैको भविष्यलाई देखेर यस्तो गरेकी थिएँ । मनमा कति कतिबेला गाडी घुमाउन लगाउने विचार आयो । हरिवन पुगेपछि हामीले सबैकुरा बुझ्यौं । त्यहाँ सबै राम्रै रहेछ । तर वृद्ध आमाबुवा मात्रै बस्ने भएकाले उनलाइ मन नलाग्ने सक्ने कुरा आश्रमकी म्यामले भन्नु भएको थियो । भर्खरै पढ्दै गरेकाले उनलाई पढाउन गोरखा सिफ्ट गर्नु पर्छ भन्ने कुरासमेत म्यामले भन्नुभयो । त्यसपछि हामीले संयुक्त फोटो खिच्यौँ । यता आउँदा उनले गाडी सम्म पुर्याउन आइन् । जिन्दगीमै कहिल्यै नगरेको यस्तो कामले मलाइ आत्मासन्तुष्टि दियो । बेलाबेलामा भेट्न आउछु भन्दै प्रियंबाबाट छुट्टिएँ । उनको भविष्य उज्जवल बनोस् मेरो हार्दिक शुभेच्छा । यस काममा मलाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्ने सबैलाइ हृदयदेखिनै धन्यवाद ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको