
काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो।
शनिबार पाँच हजार ७६३ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । कुल संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुग्दा दुई लाख ८२ हजार ३८२ जना डिस्चार्ज भएका छन् ।
शनिबार १९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २९८ पुगेको छ । अहिले क्वारेन्टाइनमा ६७ जना रहेका छन् ।
२४ घण्टामा संक्रमित भएकामध्ये ३२ सय ५१ पुरुष र २४ सय ५५ महिला रहेका छन् । संक्रमितमध्ये ४०१ आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ।