
बर्दिबास
महोत्तरी जिल्लाको बर्दिबास स्थित पञ्चधुरा होटलमा हिजो भाषा आयोगको आयोजना र मगही फाउण्डेशन नेपालको समन्वयमा मगही भाषाको इतिहास लेखन कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमको उदघाटन प्रदेश नं. दुईका प्रदेश सांसद दिलीप कुमार साहले गर्नु भएको थियो ।
यसै कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश न.ं दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले मातृभाषा साहित्यको इतिहास नामक पुस्तकको विमोचन गर्नु भएको थियो । उहाँँले मगही भाषा कुनै नयाँँ भाषा नभई यो धेरै पुरानो भाषा भएको र यस भाषालाई दबाइएको तथा पछाडी पारिएकाले यस भाषालाई संरक्षण, संबर्धन तथा जर्गना गर्नका निम्ति यस समुदायका लागि छुट्टै आरक्षणको ब्यवस्था गरिनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द बर्दिबासका प्रमुख राम पुकार रामले रेडियो नेपालले समाबेशि आवाजका रुपमा मगही भाषालाई पनि स्थान दिएको छ । यस भाषालाई संरक्षण, संबर्धन तथा प्रबर्धन गर्नका लागि सबै एकजुट भई लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
साथै आगामी दिनमा अन्य यस्ता पछाडि परेका वा दबिएका भाषाहरुलाई पनि स्थान दिइने प्रमुख रामले बताउनु भयो ।
नेपाल पत्रकार महासघं महोत्तरी शाखाका सचिव राजकरण महतोले मगही भाषालाई पाठ्यक्रममा समाबेश गरी विद्यालय स्तरबाट नै बालबालिकाहरुलाई यस भाषामा पठनपाठनको माध्यमले आफ्नो मातृभाषाका बारेमा जानकारी दिनुपर्ने कुरामा जोड दिनुभएको थियो
मगही फाउण्डेशन नेपालको अध्यक्ष वीर बहादुर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सांसद निशा साह, मनराशिसवा गाँउपालिकाका उपमेयर तथा अन्य वक्ताहरुले आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।