बैशाख ७
कोरोना संक्रमणको बढ्दो मामिलालाई ध्यानमा राखेर दिल्लीमा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । यससँगै आप्रवासी कामदारहरु घर फर्किने क्रम सुरु भएको छ । कौशान्बी बस स्टेशनमा सोमबार प्रवासी कामदारहरु सामान बोकेर बस कुरिरहेका थिए । कोही छतमै बसेर यात्रा गर्न पनि तयार थिए ।
सोमबारै दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले एक साता लामो लकडाउन घोषणा गरेका थिए । लगत्तै प्रवासी श्रमिकहरु सामान बोकेर बस अड्डा पुगे ।
प्रवासीहरूको भीडमा कारण बस स्टेशनमा शारीरिक दूरीलगायत नियमहरु पालना हुनसक्ने अवस्था नै थिएन, बरु छतमै बसेर मानिसहरु यात्रा गरिरहेका थिए ।
गत वर्ष पनि लकडाउनपछि यसरी नै प्रवासीहरू आ–आफ्ना घर फर्किएका थिए । त्यस समय सवारी साधन नपाउँदा कतिपय कामदारहरूले सयौं किलोमिटर यात्रा हिँडेरै गरेका थिए ।
भारतको राजधानी दिल्लीमा पश्चिम बंगाल, उत्तर प्रदेश, बिहारलगायतका विभिन्न राज्य तथा नेपालबाट समेत प्रवासीहरू कामका लागि जाने गरेका छन् ।
लकडाउनले गर्दा काम खोसिएपछि एकातर्फ कोरोनाको त्रास र अर्कोतर्फ रोजीरोटीको चिन्ताले उनीहरुलाई सताएको छ । दिल्लीमा सोमबार २३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको थियो भने २ सय ४० जनाभन्दा धेरैले ज्यान गुमाएका थिए ।