ओलीको सुदर्शन चक्र


मानव शरीरमा जीवतत्व र विषतत्व जस्ता दुई परस्पर विरोधी तत्व हुन्छन्। जीवाणु सबल र सक्षम हुन गयो भने शरीर निरोगी हुन्छ तर विषाणु सबल हुन थाल्यो भने शरीर रोगी र क्षीण हुँदै मानिस मर्न पनि सक्छ। तर यी दुवैथरीका बीच आन्तरिक द्वन्द्व निरन्तर चलिरहन्छ। विषाणुलाई पूरै निषेध गर्न खोजे पनि सकिँदैन र हुँदैन। उपर्युक्त दुवैको आन्तरिक द्वन्द्वले गति निर्माण हुन्छ। एउटा उद्योगमा मालिक र मजदुर दुई परस्पर विरोधी वर्ग हुन्छन्। मालिकचाहिँ सकेसम्म मजदुरलाई बढीभन्दा बढी काममा लगाएर बढी मुनाफा लिन चाहन्छ तर मजदुर भने आफ्नो श्रम र पसिनाको उचित मोल लिन आवश्यक संघर्ष गर्छ। दुवैको आन्तरिक अन्तद्र्वन्द्व जारी रहिरहन्छ। तर दुवै नभई उद्योग चल्दैन। त्यसैले माक्र्सवादी द्वन्द्ववादले यसलाई गति मान्छ। बिजुली बत्ती बल्न नेगेटिभ र पोजिटिभ दुवै तत्वको भूमिका हुन्छ। एउटालाई निषेध गरेर बत्ती बल्दैन।

आम पार्टी सदस्य र जनताका नजरमा पनि पार्टी अध्यक्षले माधव नेपाललगायतलाई पार्टीमा एकताबद्ध भएर काम गर्ने अनुकूल वातावरण भने अन्तिमसम्म दिएको हो भन्ने अनुभूति दिलाउनुपर्छ।

पार्टीमा पनि नकार र सकार दुवै तत्व हुन्छन्। गतिका लागि दुवै तत्व अपरिहार्यजस्तै हुन्छन्। तर नकारले जित्यो भने पार्टी पार्टी रहँदैन, बिरामी हुन्छ, थाला पर्छ र मर्छ पनि। त्यसैले सकारात्मक पक्ष सबल, सक्षम र प्रभावी हुनैपर्छ। यसका लागि लासालवाद होइन माक्र्सवाद प्रभावी हुनैपर्छ। रायमाझी प्रवृत्ति होइन पुष्पलालको प्रभाव पार्टीमा अपरिहार्य हुन्छ। मैनाली प्रवृत्ति होइन मदन भण्डारी र जबजले मात्र पार्टीलाई जीवन्त बनाउँछ। तर पनि जननेता मदन भण्डारीले सीपी मैनालीलाई पार्टीमा उचित स्थान दिनुभयो। यसको अर्थ भण्डारीले माक्र्सवादी सारतत्वको मर्म बुझेर पार्टीभित्रको फरक मत वा विषाणु प्रवृत्तिलाई सन्तुलनमा राख्नु भयो। विषाणु प्रवृत्तिलाई बेलैमा चिन्ने सामथ्र्य नेतामा हुनुपर्छ। रोग नलाग्दै यसमा विशेष ध्यान दिनुपर्छ। जननेता मदन भण्डारीले ०४६ सालको पूर्वसन्ध्यामा भारतीय सशस्त्र सहयोगका बलमा नेपालमा गणतन्त्र ल्याउन उद्यत् माधव नेपालजस्तो विष प्रवृत्ति देखीबुझी पनि सतर्क र सावधान नहुँदा अहिलेको जटिल परिस्थिति आइलागेको हो। विषाणुले मौका हेरिरहेको हुन्छ। जब अलिकति पनि फोहोर देखा परे त्यतिबेला झिँगा र मच्छड भन्किन थाल्छन् र वरपरको परिवेशलाई विषाक्त बनाउन लागिपर्छन्। आफैंभित्र सुषुप्तरूपमा विद्यमान यो प्रवृत्तिले मौका पाउँदा टाउको उठाउन सक्छ। विषाणुले समधर्मी, समविचार, सममार्गी वस्तु, व्यक्ति र लक्षण खोज्छन्। कतै केही लागेन भने आफैं अघि सरेर स्वच्छ परिवेशलाई मैलो बनाउन भरमग्दुर प्रयत्न गर्छन्। आफैंभित्रका विषाक्त प्रवृत्ति ओकल्छन्, खोकल्छन् र भरसक अरूलाई पनि यसैमा अभ्यस्त बनाउन प्रयास पनि गर्छन्। सकेसम्म आफ्नो शक्ति सबल बनाउने प्रयत्न गर्छन्। विगतमा सीपी मैनालीले बोगटी प्रकरणमा आफूलाई मात्र होइन, धेरैलाई पार्टीले कारबाही गर्न खुला चुनौती दिएका थिए। सबैभन्दा विषाक्त हरियो झिँगा हुन्छ। यसले कुनै न कुनै तरिकाले आफ्ना मित्र र मतियार बनाउँँछ र विकृतिमा अभ्यस्त पार्ने प्रयत्न गर्छ। विकृतिले सुकृतिलाई देखिसहँदैन त्यसैगरी सुकृतिले पनि विकृतिलाई यथास्थानमा रोकेर राख्ने प्रयत्न बारबार गर्नुपर्छ। त्यसैले विकृति सामान्य र सतही अवस्थामा हुँदा आत्तिनु पर्दैन तर यो प्रभावी भयो भने पार्टी पार्टी रहँदैन।

विकृतिविरुद्ध पार्टीमा शुद्धीकरण र सुदृढीकरण गरिरहनुपर्छ। पथपरहेज गरिरहनुपर्छ। विकृति निकै झाँगिएपछि माइनर र मेजर अप्रेसन गर्नुपर्छ। नत्र जीवन समाप्त हुन्छ। सकेसम्म पथपरहेज गर्ने अनि सामान्य उपचार विधि अपनाउने नोक्सानी कम होस् भनेर उपचार गर्ने तर क्रोनिक भएपछि त चिरफार गर्नैपर्छ। प्राण बचाउनैपर्छ। यसका लागि मुटु नै प्रत्यारोपण गर्नुपर्ने पनि हुन सक्छ। अहिले नेकपा एमालेमा यस्तै चालामाला देखिन्छ। तर जतिसुकै पथपरेज गरे पनि रोग लाग्नु स्वाभाविक र नैसर्गिक हुन्छ। स्वस्थ शरीरमा पनि सुस्त, शिथिल र सुषुप्त अवस्थामा भए पनि विषाणु तत्व रहिरहेको हुन्छ। त्यसैले नेकपा एमाले पार्टीका नेताहरूले पार्टीभित्रका र आफैंभित्रका नकार, नेगेटिभ र विकृत तत्व समूल समाप्त पार्छु भनेर नसोचे पनि हुन्छ। यस्तो कुरा द्वन्द्ववादविपरीत हुन्छ। अब गर्नु के पर्छ भने अल्पमत, विजातीय तत्व र विकृत पक्षलाई सकेसम्म उपयुक्त र विधिसम्मत रूपमा राम्ररी उपचार गर्नुपर्छ यथास्थानमा सीमित गर्नुपर्छ। ताकि सुकृति र विकृतिमध्ये को सही, उपयुक्त, सैद्धान्तिक, कामकाजी र देश र जनताका हितमा निष्ठवान् हो भनेर तुलना गर्न सजिलो हुन्छ। यसरी तुलना गर्दा नेता, कार्यकर्ता र जनताले आफैं सही विचार र नेतृत्व निक्र्योल गर्न सक्नेछन्। स्वास्थ्य र पार्टीको सैद्धान्तिक ज्ञानको अभाव हुँदा कार्यकर्ता र जनताले नै नेतृत्वलाई बेलैमा पहिचान गर्न सक्तैनन् र रनभुल्लमा पर्ने खतरा हुन्छ। अहिले खनाल–नेपाल प्रवृत्तिले त्यही काममा जोडबल लगाइरहेको देखिन्छ।

सुदर्शन चक्र आध्यात्मिक दृष्टिले भगवान् कृष्णको अस्त्र हो। यसलाई मानव पुर्खाहरूले उतिबेला दुर्जनलाई तह लगाउन उपयोग गरेको उपचार विधिको प्रतीक हो। कृष्णले अर्जुनलाई सम्झाउँदा गीता तयार भयो। अर्थात् कृष्णले केकतिसम्म लामो व्याख्यान गरेर सम्झाउने क्षमता राख्दा रहेछन् भन्ने थाहा हुन्छ। कृष्णको लामो अर्ती र ज्ञान अर्जुनको चित्त बुझ्यो उनले सम्झिए। महाभारतको युद्धमा उनी विषतत्वमाथि विजय हासिल गर्न समर्थ भए। तर कृष्णले यसरी नै शिशुपाललाई सम्झाउनुभयो। गीता बराबरकै ज्ञान, बुद्धि र चेतना प्रदान गरेर कृष्णले सयबार सम्झाउँदा पनि शिशुपाल मानेन, उसले सम्झिएन। त्यसपछि कृष्णले आफ्ना हातको चोर औंलामा फानफनी घुमिरहेको सुदर्शन चक्र शिशुपाललाई देखाउनुभयो। तैपनि शिशुपालले टेरेन र मानेन। त्यसपछि कृष्णले सुदर्शन चक्र शिशुपालमाथि प्रयोग गर्नुभयो र शिशुपालको इहलीला समाप्त भयो। यो कुरा एक प्रसंगमा पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीले नेपाली राजनीति र त्यसमा पनि वाम राजनीतिक विकृति सम्बन्धमा उल्लेख गर्नुभएको थियो।

ओलीले अघिल्लोपटक छापामार शैलीमा आफूलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्ने प्रचण्ड र यसमा भित्रभित्रै षड्यन्त्रकारी भूमिका निर्वाह गर्ने माधवकुमार नेपाललाई राम्ररी सम्झाउँदै यो अभिमन्यु महाभारतको सत्रबर्से अभिमन्यु होइन भन्नु भएको थियो। उहाँले दाहाल नेपाललाई अहिलेको परिपक्व अभिमन्यु चक्रव्युहमा पस्न मात्र होइन त्यसलाई ध्वस्त पारेर अगाडि सक्छ भन्ने हेक्का राख्न भन्नुभएको थियो। नभन्दै ओलीलाई फसाउन तयार पारिएको पासो दाहाल नेपालकै गलपासो भएको देखिन्छ। ओलीविरुद्ध कथित नागरिक समाज, राजनीतिक विश्लेषक र कतिपय मिडियासमेत ओलीबाट कायल र घायल भएर अरण्यरोदन गरिरहेका छन्। जनतालाई आफ्नाविरुद्धका अतिरञ्जित तथा सरासर झूट र अनुचित अफवाहविरुद्ध प्रतिवाद गर्न ओली आफैं अघि सर्न बाध्य बनेको देखिन्छ। जनता, कार्यकर्ता र विरोधीलाई समेत घैंटामा घाम लाग्ने गरी अपिल गर्ने क्षमता अरू नेतामा नहुँदा ओली आफैं प्रतिवादमा उत्रनुपर्ने अवस्था देखिन्छ। सडकमा रोइकराई गरेर नेता, कार्यकर्ता र जनताबाट क्षणिक सहानुभूति लिने दाहाल, नेपाल र खनालको एक मात्र ध्येय देखिन्छ। दीर्घकालीन रूपमा यिनको बर्बराहटको कुनै माने र महŒव छैन।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँझाएपछि पनि माधव नेपाल प्रचण्डकै सरसल्लाहअनु्सार गुटगत गतिविधिमा निरन्तर लागिरहे। अहिले कुरा बुझ्दा नेपाललगायत केही अराजक व्यक्तिमाथि सुदर्शन चक्र चलाउन ओलीलाई बाध्य पार्न खोजेको देखिन्छ। नत्र पार्टी अध्यक्षले सोधेको स्पष्टीकरणमा उल्टो अध्यक्षलाई स्पष्टीकरण सोध्नेजस्तो अराजनीतिक कृत्य नेपाललगायतले गर्ने थिएनन् ।

उनी त यस खालका कारबाही अरू धेरैलाई होस्, त्यसो भए आफ्नो जत्था ठूलो हुन्छ भन्ने यिनको ठहर देखिन्छ तर यिनका पछि कर्मी मौरी लाग्ने छैनन्। ढिलोचाँडो ती मूल पार्टीमै आबद्ध हुनेछन् तर केही डाइना भने नेपालकै सती जान सक्छन्। आखिर माधव नेपालले पार्टीमा लागेवापत पाउनु फलीफाव र शुभलाभ पाइनै सकेका छन्। नेपाललाई एमालेमै रहेर देश र जनताका लागि अब केही गरौंला भन्ने नै थिएन र छैन। तथापि बाँचुञ्जेल आफ्नावरिपरि प्रदक्षिणा गर्ने मान्छे राखेर बस्न र बाँच्न मन छ उनलाई। यही कुरा यस लेखकले अशोक राईलाई एक प्रसंगमा भनेको थियो। राईलाई तपाईंले पनि पार्टीमा लागेवापत धेरै कुरा प्राप्त गरिसक्नुभयो। अब तपाईंलाई देश र जनताका लागि सिन्को पनि भाचुँला भन्ने नै छैन भनिदिएको थिएँ।

पार्टी अध्यक्ष ओलीले आगामी ६ महिनासम्म पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय सही भए पनि पुनर्विचार गर्ने ठाउँ हुँदा ध्यान दिनुपर्छ। आम पार्टी सदस्य र जनताका नजरमा पनि पार्टी अध्यक्षले माधव नेपाललगायतलाई पार्टीमा एकताबद्ध भएर काम गर्ने अनुकूल वातावरण भने अन्तिमसम्म दिएको हो भन्ने अनुभूति दिलाउनुपर्छ। माधव नेपाल आफैं पार्टीबाट पलायन भए पनि उक्त प्रवृत्ति कमबेसी पार्टीमा रहिरहन्छ। यसलाई विधिसम्मत रूपमा नियमन गर्न बेलैमा ध्यान दिनुपर्छ। सुदर्शन चक्र चलाउँदा सकेसम्म क्षति नहोस् र भयो भने पनि कमभन्दा कम क्षति होस् भन्नेमा ध्यान जानुपर्छ। अन्नपूर्ण पोस्ट्

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको