२वर्ष ७ महिना २ दिनको ‘बालक’ नेकपा राजनीतिक रूपमा दुई चिरा भएको छ । २०७५ सालको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा जसरी नेतृत्व र कार्यकर्ता पंक्तिमा उत्साह छाएको थियो, विभाजन हुँदा नेता कार्यकर्ता उत्तिकै निराश बनेका छन् ।
केही दिनयता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक चलाइरहेका छन् । दुवैतिरका नेताहरूले एकले अर्कोलाई हिलो छ्याप्न र पोल खोलाखोल गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
गत पुस ५ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले संसद विघटनको प्रस्ताव गरे । केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रस्ताव सदर गरिदिइन् । विभाजनको संघारमै रहेको नेकपा संसद् विघटनपछि एक रहन सकेन । अहिले नेकपा दुई चिरा बनेको छ ।
पार्टी एकताका काम पनि पूरा नभइकन दुई चिरा बनेको नेकपाको एउटा चिराको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् भने अर्को चिराको नेतृत्व ओलीले गरेका छन् ।
९ सचिवालय सदस्य रहेको नेकपाको प्रचण्ड-नेपाल पक्षमा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गरेर ४ जना सचिवालय सदस्य छन् भने ओलीतर्फ पनि रामबहादुर थापा ‘बादल’सहित चारै जना नेता छन् ।
उपाध्यक्ष वामदेव गौतम कतै खुलेका छैनन् । बिहीवार(आज) बिहानसम्म कतै नखुलेका बादल भने आजै बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा पुगेर प्रचण्ड-नेपाल समूहलाई प्रतिगामी करार गरिसके । बालुवाटारमा बसेको ओली समूहको नेकपाको बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलवार बसेको बैठकले प्रवक्ता श्रेष्ठलाई हटाएको थियो ।
त्यस्तै प्रचण्ड-नेपाल पक्षले ओलीलाई अध्यक्षबाट कारवाही गरी हटाएको छ । ओलीको ठाउँमा वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाइएको छ । दुवै पक्षले नयाँ शिराबाट अघि बढ्ने गरी आफ्ना नेता तथा कार्यकर्तालाई अनुरोध गरिसकेका छन् ।