
९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाट नै सडकमा उत्रिएर आन्दोलन गर्ने निर्णय गरेको छ। काठमाडौंमा भोलिबाट दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने प्रचण्ड–माधव समूहले निर्णय गरेको छ।
देशव्यापी प्रदर्शन १४ गते हुने तर काठमाडौंमा चाहिँ मुख्य प्रदर्शन हुने र बाग्मती प्रदेशका सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिने कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्। श्रेष्ठले यो आन्दोलन पछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा गरिने र नेपाल बन्दसम्म पनि हुनसक्ने बताएका छन्।
साथै आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ र यसको सचिवालय पनि बनाइनेछ ।
बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको जानकारी आएको छ। ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला गर्ने निर्णय समेत बैठकले गरेको छ।
२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म सम्म वडा स्तरमा बैठक भेला गर्ने प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ।