चारआली–सिलिगुडी ५० किलोमिटर पेट्रोलियम पाइप लाइन बिछ्याइने काम अघि बढयो


बिर्तामोड ।  भारतको सिलगुढीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको रुट पहिचान सकिएको छ । सर्भेअनुसार पाइपलाइन सिलगुढीबाट भारतको पानीट्यांकीको दक्षिण भेग हुँदै नेपाल र भारतको सीमानामा रहेको मेचीखोला मुनीबाट नेपाल प्रवेश हुनेछ । यसपश्चात महेन्द्र राजमार्ग हुँदै निगमको झापा चारआलीमा भण्डारण गरिने छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुडी डिपोदेखि निगमको झापा, चारआलीस्थित कार्यालयसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याइने निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले बताए । जमिनदेखि २ मिटरमुनी पाइपलाइन बिछ्याइने छ ।

 

सिलगुढी–झापा पेट्रोलियम पाइपलाइनबारे स्थलगत निरीक्षण गर्न झापा आइपुगेका निगमका कार्यकारी प्रमुख पौडेलले सो क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जोखिमपूर्ण रहेको बताए । “सिलगुडी– झापा पाइपलाइन विस्तार चुनौतीपूर्ण छ” पौडेलले भने, “भारतपट्टि जंगल, घना बस्ती रहेको छ । नेपालतर्फको रुटमा खोला, सार्वजनिक जग्गा र झापाको केही भागमा सुकुमबासी बस्ति रहेको छ, तर हामी यसलाई उच्चतम व्यवस्थापन गरेर पाइपलाइन विस्तार गर्दै छौँ ।” पाइपलाइनको लागत भारततर्फ भारत सरकारले नै बेहोर्ने र नेपाल तर्फको रुट मात्र नेपालले बेहोर्ने प्रमुख पौडेल बताउँछन् । “मोतीहारी–अमलेखगन्ज पाइपलाइनको ७० किलोमिटर लम्बाइ रहेको छ । सो पाइपलाइन ४ अर्ब बढी लागतमा निर्माण भएको थियो, यसको खर्च आइओसीले बेहोरेको थियो” प्रमुख पौडेलले भने, “सो परियोजनाको तुलनामा सिलगुढी–झापा पाइपलाइन करिब २० किलोमिटर छोटो भए पनि लागत अझ बढी हुने अनुमान गरिएको छ ।” चारआलीमा ४० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता निर्माण हुनेछ ।

५० किलोमिटर लम्बाइ रहेको पाइपलाइन नेपालतर्फ १५ किलोमिटर र भारततर्फ ३५ किलोमिटर बिछ्याउनुपर्ने सर्भे टोलीकी इन्जिनियर मसिनी खड्काले बताइन् । आइओसी टोलीसँग मिलेर विस्तृत इन्जिनियरिङ गरिएको इन्जिनियर खड्का बताउँछिन् । पाइपलाइनसँगै ग्याससमेत भण्डारण हुने जनाइएको छ ।

२३ विगाहमा भण्डारण गृह

झापाको चारआलीमा २३ विगाह जग्गामा पेट्रोलियम पदार्थ भण्डारणका संरचना निर्माण हुँदै छ । ०७३ सालमा मा निगमले खरिद गरेको जग्गामा भण्डारण गृह निर्माण प्रक्रिया शुरु भएको हो । नेपाल आयल निगम चारआलीका प्रमुख मनिष न्यौपानेका अनुसार उक्त भण्डारणमा १२ हजार ५० किलोलिटर पेट्रोल, २८ हजार ५० किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टीतेल र एक हजार दुई सय ५० किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने गरी डिपो निर्माण हुँदै छ । भण्डारण गरिएको पेट्रोलियम पदार्थले प्रदेश– १को ९० दिनसम्म आवश्यक पर्ने मागलाई धान्ने निगमले जानकारी दिएको छ । भण्डारण गृह पूर्व–पश्चिम लोकमार्गबाट करिब दुई किलोमिटर दक्षिणमा रहेको छ ।

सोही स्थानमा चार हजार मेट्रिक टन क्षमताको खाना पकाउने एलपी ग्यासको भण्डारण गृह निर्माणसमेत हुने छ । चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण गृह तथा बोटलिङ प्लान निर्माण हुने न्यौपानेले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको