सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित


२८ भदौ, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ।

प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा छलफल गर्न समामुख सापकोटाले सोमबारका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएको भएपनि एमाले भने अनुपस्थित भएको हो।

नेकपा एमालेले भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गर्दै आइरहेको छ।

एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदको विषयमा सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेको बताउँदै आएको छ। आफ्नो पार्टी विभाजनका लागि सभामुखले भूमिका खेलेको एमाले नेताहरुले आरोप लगाएका छन्।

जसका लागि बैठक बोलाइएको हो, त्यही दल उपस्थित नभएपछि तत्काल संसदको अवरोध खुल्नेमा आशंका उत्पन्न भएको छ। आइतबारको प्रतिनिधिसभा एमालेले अवरोध गरेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको थियो।

नेकपा एमालेकी सांसद शान्ता चौधरीले माधव नेपालको पार्टी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने बताइन्। आफूहरुको माग सभामुखले पूरा गर्नुपर्ने हुँदा सर्वदलीय बैठकको कुनै अर्थ नभएको उनको भनाइ छ।

उनले भनिन्, ‘माधव नेपालको दल उपस्थित भएको ठाउँमा हामी जान सक्दैनौँ। हाम्रो माग दलहरुबीच छलफल गर्नुपर्ने नै होइन। सभामुखले पूरा गर्ने हो। उहाँले पूरा गरे भइहाल्यो। सर्वदलीय बैठकको अर्थ छैन। त्यसैले हामी आएनौँ।’

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसमा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी सहभागी भएका छन्।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको