सामाजिक हेराईमा घर र परिवार मानिसका लागि सुरक्षित संस्था मानिन्छ तर पछिल्लो समय मानिसहरू घर, परिवारबाटै असुरक्षित हुन थालेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७ र ७८ मा प्रदेशभरि आफन्त र परिवारका सदस्यबाट ५६ जनाको हत्या भएको छ ।
१४ जिल्ला रहेको प्रदेश १ आर्थिक वर्ष २०७७र ७८ मा ७ हजार ३८४ वटा आपराधिक मुद्दा दर्ता भएकोमा १४३ वटा कर्तव्य ज्यान मुद्दा छन् । तीमध्ये ५५ वटा घटना आफन्त र परिवारका सदस्यको संलग्नतामा भएको तथ्याङ्क छ । प्रहरीका अनुसार उक्त वर्ष आफन्त र परिवारका सदस्यको संलग्नतामा भएका कर्तव्य ज्यानका ५५ घटनामा ५६ जनाको मृत्यु भएको हो ।
आफन्त वा परिवारकै सदस्य संलग्न कर्तव्य ज्यानका ५५ घटनामा अधिकांश आरोपित र पीडित पति वा पत्नी नै छन् । पतिले पत्नी वा पत्नीले पतिको हत्या गरेको घटना ३१ वटा रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
नाताभित्र कर्तव्य ज्यानका घटनामा पति–पत्नीपछि बाबु–छोरा आरोपित र पीडितका रूपमा बढी छन् । बाबुले छोरा वा छोराले बाबुको हत्या गरेका घटना ८ वटा रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रदेशमा वर्षभरि पाँच महिलाले आफ्नै शिशुको हत्या गरेका छन् ।
यसैगरी ठुलोबुबा–भतिज, माइजू–भान्जा, दाजु–बहिनी र आमाछोराबीच पनि हत्याका घटना भएको पाइएको छ ।
यो पनि
संखुवासभा हत्याकाण्ड हत्यालगत्तै आरोपीले चिर्पट जलाएका थिए
लैङ्गिक हिसाबका आधारमा यसरी परिवारभित्रकै सदस्यबाट वर्षभरि ४६ महिलाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । ‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्’, उनले भने ।
सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन् । झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँचरपाँच, इलाम र उदयपुरमा चाररचार, खोटाङमा तीन, ओखलढुङ्गा, तेह्रथुममा, धनकुटा, पाँचथर र सङ्खुवासभामा दुईरदुई तथा भोजपुरमा एउटा हत्याका घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले बढ्दो पारिवारिक हत्याका घटनाले मानिसलाई परिवारभित्रै असुरक्षित महसुस गराएको बताए । उनले बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागू औषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैतृक धनसम्पत्तिको बाँडफाँट, मानसिक समस्याजस्ता कारणले यस्ता अपराध बढेको बताए । ‘विभिन्न कारणले पारिवारिक विग्रह बढ्ने क्रम बढ्दो छ,’ डिआइजी बिसीले भने, ‘जसले बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, श्रीमान्, श्रीमतीभित्र नै जघन्य अपराध निम्तिरहेको थुप्रै उदाहरण छन् ।’
सामाजशास्त्री प्राध्यापक डा। डिल्ली प्रसाई पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक र आर्थिक कारणले अहिले परिवारभित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ ।
‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्,’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोच सबैमा हाबी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’
समीक्षा अवधिभन्दा बाहेक पनि प्रदेशभित्र परिवारभित्रकै व्यक्तिको संलग्नतामा हत्याका डरलाग्दा घटना प्रकाशमा आएका छन् । गत सोमबारमात्र सङ्खुवासभाको मादी–१, उम्लिङका एकै परिवारको ६ जनाको हत्या भयो, जसमा परिवारभित्रकै सदस्यको संलग्नता रहेको खुलेको छ ।
तेजबहादुर कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा प्रहरीले मादी १ का २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । पक्राउ परेका लोकबहादुर मृतक तेजबहादुरका भतिजा हुन् ।
तेजबहादुरको परिवारले आफूलाई हेप्दै आएको र मनमा त्यसको तुस रहिरहेकाले आफूले हत्या गरेको बयान लोकबहादुरले प्रहरीसमक्ष दिएका छन् ।
सो हत्याकाण्ड हुनुभन्दा दुई वर्षअघि अर्थात् २०७६ जेठ ६ गते राति पाँचथर मिक्लाजुङ–३ को आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको बीभत्स हत्या भएको थियो । दुईवटा परिवारका सबैजसो सदस्यको ज्यान लिने गरी भएको सो घटनामा पनि परिवारकै सदस्य अर्थात् मृतक परिवारका ज्वाइँ नै मुख्य आरोपित थिए ।
गत १९ असारमा मोरङको बेलबारी नगरपालिका–७, दैलपुरका ५४ वर्षीय अम्बिका घिमिरेले आफ्नै श्रीमतीको हत्या गरे । अम्बिकाले श्रीमतीको किचकिच सहन नसकेपछि मदिराको नसामा लठ्ठिएर श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
पारिवारिक विवादलाई लिएर राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार ९सूचक० ४२ वर्षीय भोला सिंहको असार २५ गते हत्या भयो । हत्या आरोपमा मोरङ प्रहरीले भोलाका भाइ ३१ वर्षीय साजन सिंहलाई पक्राउ गरेको छ ।
जेठ ४ गते राती रंगेली नगरपालिका– ३ की २४ वर्षीया अनिता यादवको हत्या उनकै १९ वर्षीय देवर विनोद यादवले गरे । सामान्य घर झगडाको विषयलाई लिएर विनोदले आफ्नै भाउजूको बीभत्स तरिकाले हत्या गरेका थिए ।
यी घटनाले परिवारभित्रै पनि नागरिक असुरक्षित भएको प्रस्ट सङ्केत गरेका छन् ।









