गोलबजारमा पुनः सुरु भयो राष्ट्रिय परिचयपत्र सेवा, नगरवासीलाई सहज हुने अपेक्षा


सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र बनाउने सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ। सेवा पुनः सुरु भएसँगै नगरपालिकाका १३ वटै वडाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहज हुने अपेक्षा गरिएको छ।

गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठ, उपप्रमुख मान्तीदेवी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णलगायत वडा अध्यक्षहरूको उपस्थितिमा सेवाको उद्घाटन गरी पुनः सञ्चालन गरिएको हो।

उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले राष्ट्रिय परिचयपत्र सेवासँगै नापी, मालपोत तथा कर (प्यान/भ्याट) सम्बन्धी सेवा पनि स्थानीय स्तरबाटै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। उनले आगामी पुस महिनाभित्र आवश्यक व्यवस्थापन पूरा गरी ती सेवा सञ्चालनमा ल्याउने तयारी रहेको बताए। यी सेवा सञ्चालनमा आएपछि सामान्य कामका लागि नागरिकले अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।

त्यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले राष्ट्रिय परिचयपत्र नागरिकका लागि अत्यावश्यक दस्तावेज बन्दै गएको बताए। स्वास्थ्य बिमा गर्नसमेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्न थालेको उल्लेख गर्दै उनले नागरिकको दैनिक जीवनमा यसको महत्त्व बढ्दै गएको बताए।

गोलबजार नगरपालिका-४ का वडाध्यक्ष सकलदेव यादवले लामो समयदेखि सेवा अवरुद्ध हुँदा नगरवासीले विभिन्न समस्या र सास्ती भोग्नुपरेको बताए। आफ्नै नगरपालिकाबाट सेवा पुनः सञ्चालन भएपछि नागरिकलाई ठूलो राहत मिल्ने उनको भनाइ छ।

मंगलबार दिउँसो ३ बजेदेखि सुरु भएको सेवाबाट साँझसम्म १० जनाले राष्ट्रिय परिचयपत्रका लागि सेवा लिइसकेको राष्ट्रिय परिचयपत्र शाखाका कर्मचारी सन्तोषकुमार सिंहले जानकारी दिए। उनका अनुसार बुधबार बिहानदेखि सेवाग्राहीको चाप थप बढ्न सक्ने अनुमान गरिएको छ।

स्थानीय स्तरमै राष्ट्रिय परिचयपत्र सेवा पुनः सञ्चालनमा आएपछि गोलबजारका नागरिकलाई सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको