पर्सा । पर्साको पकाहामैनपुर गाउँपालिका-२ मधुबनीमा पटाका पड्काउने क्रममा घाइते भएका आठ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनीको मृत्यु भएको हो ।
सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा पटाकाको छर्रा लागेर कुन्दनको छातीमा गम्भीर चोट लागेको थियो । छर्रा लागेपछि बेहोस भएका उनलाई आफन्तले उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पटाकाको छर्रा छातीको बीच भागमा लाग्दा बालकको छातीसमेत जलेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।











