समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु संविधानविपरीत : रास्वपा प्रवक्ता खरेल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति, सिद्धान्त र संविधानविपरीत रहेको बताएका छन्।

उनले पत्रकारलाई समाचारकै विषयमा पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने बताए।

खरेलले नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै रास्वपा त्यसको पक्षमा स्पष्ट रहेको बताए।

‘पत्रकारलाई कुनै पनि बहानामा समाचारकै आधारमा पक्राउ गर्नु पार्टीको नीति र सिद्धान्तमा छैन। नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको छ। त्यसको स्पष्ट पक्षमा पार्टी छ,’ उनले अनलाइनखबरसँग भने।

समाचार लेखेकै विषयमा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने, प्रभाव पार्ने वा धरपकड गर्ने कार्य पार्टीको आधिकारिक लाइन नभएको खरेलले स्पष्ट पारे।

‘समाचार लेखेकै आधारमा समाचार कक्षमा गएर धरपकड गर्ने, पक्राउ गर्ने अथवा सोधपुछ गर्ने कुरा पार्टीको नीति र सिद्धान्तविपरीत हो। संविधानविपरीत र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विपरीत हो भन्ने कुरामा पार्टी स्पष्ट छ,’ उनले भने।

यद्यपि, पछिल्लो समय सञ्चारकर्मी पक्राउ तथा धरपकडका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विवरणबारे पार्टीले आन्तरिक रूपमा छलफल गरिरहेको खरेलले बताए।

विशेष घटनामा के भएको हो, पत्रकारलाई किन पक्राउ गरिएको हो र धरपकडको कारण के थियो भन्ने विषयमा सबै विवरण नबुझी निष्कर्षमा पुग्न नसकिने उनको भनाइ छ।

‘सम्बन्धित केसमा किन लगियो, कसरी धरपकड गरियो र के कारणले गरियो भन्ने कुरा सञ्चारमाध्यममा आएकै आधारमा मात्रै सबै भन्न सकिँदैन,’ उनले भने।

खरेलका अनुसार सम्बन्धित घटनाको वास्तविकता बुझेर छलफलपछि रास्वपाले आधिकारिक धारणा सार्वजनिक गर्नेछ। तर, समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने वा समाचारकै विषयमा धरपकड गर्ने कार्य स्वीकार्य नहुने पार्टीको धारणा स्पष्ट रहेको उनले दोहोर्‍याए।

उनले संविधानले सुनिश्चित गरेको मौलिक अधिकारको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको पनि बताए।

यसैबीच, शुक्रबार नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न सादा पोशाकमा खटिएका प्रहरीहरू नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका छन्। उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै कार्यालयमै बसेको जनाइएको छ। –  अनलाइनखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको