बर्दिबास । मधेशमा शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच, कृषि प्रणालीका चुनौती, जातीय तथा लैङ्गिक विभेद र वातावरणीय सङ्कटजस्ता आपसमा जोडिएका सामाजिक सवालको गहिरो विश्लेषण गर्दै परिवर्तनको पहल गर्ने उद्देश्यले सातदिने आवासीय शिविर ‘मधेशमा सामाजिक रूपान्तरणका लागि शिविर’ सोमबारदेखि धनुषाको लालगढमा सुरु भएको छ।
मधेश प्रदेशका आठवटै जिल्लाको प्रतिनिधित्व हुने गरी २६ जना युवा सहभागी रहेको शिविर कात्तिक ९ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। शिविरले सामाजिक समस्याको सतही पहिचानमा मात्र सीमित नभई तिनका मूल कारण, सामाजिक संरचना र असमानताको जरा पहिल्याउँदै स्थानीयस्तरबाट सामाजिक तथा वातावरणीय न्यायका लागि पहल गर्न युवालाई सक्षम बनाउने लक्ष्य राखेको छ।
शिविरको आयोजना शिक्षा नीति तथा अभ्यास केन्द्र (CEPP) र खाद्यका लागि कृषि अभियानले गरेका हुन्। महोत्तरी युवा सञ्जाल (MaNY), एभरेस्ट मेमोरियल युथ क्लब, सिरहा (EMYC) र डिग्निटी इनिसिएटिभ्स (DI) सहकार्य संस्थाका रूपमा रहेका छन्।
महोत्तरी युवा सञ्जालका अध्यक्ष रविन्द्रकुमार महतोका अनुसार शिविरले युवालाई आफ्नै समाज र समुदायलाई आलोचनात्मक दृष्टिले बुझ्न, स्थापित मान्यता तथा अभ्यासमाथि प्रश्न गर्न र सिकाइलाई व्यवहारमा रूपान्तरण गर्दै स्थानीयस्तरबाट परिवर्तनको पहल गर्न प्रेरित गर्नेछ।
समस्याको सतहभन्दा मूल कारणको खोजी
शिविरमा सामाजिक संरचना, जातीय तथा लैङ्गिक विभेद, सामाजिक असमानता, वातावरण र विकासका अवधारणालगायत विषयमा छलफल तथा अभ्यास गरिनेछ। कुनै पनि समस्यालाई देखिएको अवस्थाका आधारमा मात्र नभई त्यसका कारण, प्रभाव र सामाजिक संरचनाबीचको सम्बन्ध पहिचान गरेर बुझ्ने विषयलाई प्राथमिकता दिइएको छ।
सहभागीहरूले धार्मिक तथा सामाजिक मान्यता, सञ्चारमाध्यमबाट प्रवाह हुने सूचना र विकाससम्बन्धी प्रचलित धारणामाथि सम्मानपूर्वक प्रश्न गर्ने अभ्याससमेत गर्नेछन्। कुनै कुरा कसले भन्यो, त्यसको प्रमाण के छ र त्यसबाट कसलाई फाइदा पुग्छ भन्ने प्रश्नमार्फत तथ्यमा आधारित सोच र आलोचनात्मक विश्लेषणको क्षमता विकास गर्ने उद्देश्य राखिएको छ।
जात, लिङ्ग, वर्ग, बजार, राज्य, शिक्षा, स्वास्थ्य र कृषिलगायत क्षेत्रले एकअर्कालाई कसरी प्रभाव पार्छन् भन्ने विषयमा समेत छलफल हुनेछ। यसबाट मधेशका सामाजिक समस्या अलग-अलग नभई आपसमा जोडिएका छन् भन्ने बुझाइ विकास गर्ने अपेक्षा गरिएको छ।
शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड
शिविरमा मधेशको सामाजिक रूपान्तरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने शिक्षा, सार्वजनिक स्वास्थ्य र कृषि क्षेत्रका चुनौतीलाई विशेष प्राथमिकताका साथ समेटिएको छ।
शिक्षासम्बन्धी सत्रमा शिक्षाको उद्देश्य, सार्वजनिक शिक्षाको अवस्था, विद्यालयमा पहुँच तथा गुणस्तरका चुनौती र विशेषगरी छात्रा, दलित तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले शिक्षामा भोग्ने कठिनाइबारे छलफल गरिनेछ। शिक्षालाई विद्यालय जाने वा प्रमाणपत्र प्राप्त गर्ने विषयमा मात्र सीमित नराखी समान अवसर, चेतना र सामाजिक परिवर्तनको आधारका रूपमा बुझ्ने प्रयास गरिनेछ।
त्यस्तै, सार्वजनिक स्वास्थ्यअन्तर्गत पोषण, शारीरिक तथा मानसिक स्वास्थ्य र स्वास्थ्य सेवामा नागरिकको पहुँचका विषयमा छलफल हुनेछ। स्वास्थ्यसम्बन्धी समस्यालाई व्यक्तिगत व्यवहारमा मात्र सीमित नराखी आर्थिक अवस्था, सामाजिक विभेद, जनचेतना र सार्वजनिक सेवाको उपलब्धतासँग जोडेर विश्लेषण गरिनेछ।
कृषि तथा खाद्य सुरक्षासम्बन्धी सत्रमा माटो र पानीको अवस्था, रासायनिक विषादीको प्रयोग, दिगो खेती प्रणाली तथा खाद्य उत्पादनका चुनौतीमाथि छलफल हुनेछ। कृषकको जीवनयापन, वातावरण संरक्षण र खाद्य सुरक्षाबीचको सम्बन्ध पहिचान गर्दै स्थानीयस्तरमा अपनाउन सकिने विकल्पबारे सहभागीले विचार आदानप्रदान गर्नेछन्।
वातावरणीय सङ्कट र सामाजिक न्याय
मधेशले सामना गरिरहेका वातावरणीय समस्यालाई पनि शिविरले प्राथमिकताका साथ समेटेको छ। जलवायु परिवर्तन, तराईमा बढ्दो पानीको अभाव र खडेरी, चुरे क्षेत्रसँग सम्बन्धित वातावरणीय चुनौती तथा जलवायुजन्य विपद्का विषयमा छलफल गरिनेछ।
वातावरणीय सङ्कटले कृषि, जनस्वास्थ्य, जीविकोपार्जन र स्थानीय समुदायको जीवनमा पार्ने प्रभावबारे विश्लेषण गर्दै विकासका गतिविधि र प्राकृतिक स्रोतको उपयोगलाई कसरी दिगो तथा न्यायपूर्ण बनाउन सकिन्छ भन्ने विषयमा सहभागीले छलफल गर्नेछन्।
यसका साथै रोजगारी, बजार, पुँजी, उपभोगको शैली, समयको उपयोग र मानवीय सम्बन्धले व्यक्तिको जीवन तथा समाजमा पार्ने प्रभावबारे आत्मचिन्तन गर्ने अवसरसमेत शिविरमा प्रदान गरिनेछ।
३० र ९० दिनको कार्ययोजना
सातदिने शिविरलाई सैद्धान्तिक छलफलमा मात्र सीमित नराखी व्यवहारिक अभ्यास र सामूहिक सिकाइमा आधारित बनाइएको आयोजकले जनाएको छ। सहभागीहरूले स्वयंसेवा, टिपोट लेखन, कथाकथन, छोटो सार्वजनिक प्रस्तुति, भावना व्यवस्थापन तथा स्थानीय जनप्रतिनिधि र सार्वजनिक पदाधिकारीसँग प्रश्न गर्ने सीपको अभ्यास गर्नेछन्।
शिविरको अन्तिम दिन सहभागीले सिरहामा शिक्षा, स्वास्थ्य तथा कृषिको क्षेत्रमा काम गरिरहेका व्यक्ति र स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। यस क्रममा स्थानीय अनुभवबाट सिक्ने, समुदायका वास्तविक चुनौती बुझ्ने र सिकाइलाई व्यवहारसँग जोड्ने अवसर पाउनेछन्।
अन्तिम चरणमा प्रत्येक सहभागीले आफ्नो व्यक्तिगत जीवन, परिवार, साथी समूह तथा सार्वजनिक संस्थासँग सम्बन्धित तहमा गर्न सकिने परिवर्तनका काम पहिचान गरी ३० दिन र ९० दिनका कार्ययोजना तयार गर्नेछन्। सहभागीबीच निरन्तर सम्पर्क र सहकार्य कायम राख्न साथी प्रणाली (बडी सिस्टम) तथा पूर्वसहभागी सञ्जालमार्फत सिकाइ र पहललाई निरन्तरता दिने योजना रहेको छ।
आयोजकका अनुसार शिविरको मुख्य उद्देश्य सहभागीलाई नयाँ ज्ञान दिएर मात्र फर्काउनु नभई आफ्नै समुदायमा सामाजिक तथा वातावरणीय न्यायका लागि कम्तीमा एउटा ठोस काम सुरु गर्ने प्रतिबद्धतासहित फर्काउनु हो। स्थानीय समस्यालाई बुझ्ने, तिनका मूल कारण पहिचान गर्ने र सामूहिक प्रयासमार्फत समाधानको पहल गर्ने संस्कार विकास गर्न सके सामाजिक रूपान्तरणको प्रक्रिया समुदायबाटै अघि बढ्न सक्ने आयोजकको विश्वास छ।











