काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी हुँदैछन्।
प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ। एनपीएलका सबै खेल हिमालय स्पोर्ट्स (हिमालय टिभी) बाट प्रत्यक्ष प्रसारण हुनेछन्।
तेस्रो संस्करणको प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। त्यसपछि इलिमिनेटर र क्वालिफायर चरणका खेल हुनेछन् भने मंसिर ५ गते फाइनल खेलमार्फत प्रतियोगिताले नयाँ विजेता पाउनेछ।
विजेतालाई एक करोड ५० लाख रुपैयाँ पुरस्कार
नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
त्यस्तै, उपविजेताले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।
अघिल्ला संस्करणको तुलनामा यस वर्ष पुरस्कार रकम बढाइएको हो। गत संस्करणमा लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। त्यसबेला विजेता लुम्बिनीले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।
विदेशी स्टार खेलाडीको आकर्षण
एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको जनाइएको छ। यस संस्करणमा विभिन्न देशका चर्चित खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन्। त्यस्तै, वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकाले विराटनगर किङ्सबाट खेल्नेछन्।
सुदूरपश्चिम रोयल्समा सेरफान रदरफोर्ड र फेबियन एलेन अनुबन्ध भएका छन्। पोखरा एभेन्जर्समा बंगलादेशका अलराउन्डर मोहम्मद सैफुद्दिन र मेहदी हसनलगायत खेलाडी आबद्ध छन्।
त्यसैगरी, कर्णाली याक्समा दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका हुसैन तलात र शाहबजाद फरहान तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली अनुबन्ध भएका छन्।
लुम्बिनी लायन्समा बंगलादेशका अलराउन्डर सामी हुसेन आबद्ध छन्। यसबाहेक पाकिस्तानका मोहम्मद नवाज, हैदर अली, उस्मान मिर, हसन अली र इफ्तिखार अहमद, इंग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिम्मी निशम तथा जिम्बाब्वेका कप्तान एवं अलराउन्डर सिकन्दर राजाको सहभागिताले पनि प्रतियोगितामा थप रोमाञ्चकता थप्ने अपेक्षा गरिएको छ।
पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै
तेस्रो संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने जनाइएको छ। यस प्रविधिले मैदानमा रहेका अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न सहयोग गर्नेछ।
डीआरएसको सहायताबाट एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णयको पुनरावलोकन गर्न सकिनेछ। त्यस्तै, छक्काको दूरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग गरिनेछ।
प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउने व्यवस्था गरिएको छ।
एनपीएलमा विदेशी खेलाडीको सहभागिता, पुरस्कार रकममा वृद्धि र डीआरएस प्रविधिको प्रयोगले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर तथा दर्शकको आकर्षण बढाउने अपेक्षा गरिएको छ।











