काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ। नवरात्रको अन्तिम दिन विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भीड लागेको छ।
महानवमीका अवसरमा दशैँघर, कोत तथा शक्तिपीठमा विशेष पूजा, दुर्गा सप्तशती, देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने परम्परासमेत छ।
पशुबलि नदिने तथा शाकाहारीले कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवललगायतको बलि दिने तथा पायस चढाउने गर्छन्। कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन छ।
मार्कण्डेय पुराणमा महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेको उल्लेख भएकाले यस पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ।
आज पूजा कोठा तथा दशैँघरमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने तथा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत पूजा गर्ने परम्परा छ।
महानवमीका अवसरमा विभिन्न कोतमा कोतपूजा तथा निशानापूजा गरिन्छ। हनुमानढोका दरबारसँगै नेपाली सेनाका ब्यारेक तथा गुल्ममा बाजागाजासहित जङ्गी निशाना र कोतपूजा गर्ने प्रचलन छ।
यसैबीच, काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिएको छ। आज बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।











