बारामा सर्पदंशबाट १० वर्षीया बालिकाको मृत्यु


बारा । बाराको परवानीपुर गाउँपालिकामा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ। परवानीपुर गाउँपालिका–५, नौतनटोल निवासी मनोज साहकी छोरी सन्झना कुमारीको सर्पदंशबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कात्तिक १ गते राति ११ः५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बालिकालाई नाम नखुलेको सर्पले डसेको थियो। सर्पले डसेपछि बिरामी भएकी उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले स्वास्थ्य परीक्षण तथा ईसीजी जाँच गरेपछि आज बिहान १२ः२९ बजे बालिकालाई मृत घोषणा गरेको बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान तथा जानकारी संकलनका लागि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी सहायक निरीक्षक रामबालक साहको नेतृत्वमा प्रहरी टोली खटाइएको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो।

घरमै सुतिरहेको अवस्थामा सर्पले डसेर बालिकाको मृत्यु भएपछि ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिमप्रति प्रहरीले पुनः सर्वसाधारणको ध्यानाकर्षण गराएको छ। विशेषगरी रातिको समयमा सुत्ने स्थान सुरक्षित राख्न र घरवरपरको वातावरण सफा राख्न प्रहरीले आग्रह गरेको छ।

सर्पले डसेको आशंका भएमा घरेलु उपचार वा झारफुकमा समय नबिताई तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। समयमा उपचार पाए सर्पदंशबाट हुने जोखिम न्यूनीकरण गर्न सकिने भएकाले तत्काल स्वास्थ्य संस्थामा लैजानुपर्ने प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको