विश्व पर्यटन दिवसमा महोत्तरीका होटलमा २५ प्रतिशतसम्म छुट देखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम हुने


महोत्तरी । विश्व पर्यटन दिवस २०२६ को अवसरमा महोत्तरीमा विभिन्न सचेतनामूलक तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना हुने भएका छन्।

‘पर्यटनको पुनर्संरचनाका लागि डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता (एआई)’ भन्ने मूल नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ, महोत्तरीले नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, होटल संघ नेपाल (हान) र नाट्टा मधेस प्रदेशसँगको सहकार्यमा असोज १० देखि १८ गतेसम्म कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रमअन्तर्गत असोज १० देखि १७ गतेसम्म जिल्लाका पर्यटकीय होटलमा राति बास बस्ने पाहुनालाई आवासमा २५ प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको होटल तथा पर्यटन व्यवसायी संघ, महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले जानकारी दिनुभयो।

पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका दुई जना पत्रकारलाई नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सिफारिसमा ‘पर्यटन पत्रकारिता सम्मान’ प्रदान गरिने भएको छ।

त्यस्तै, महोत्तरीको पर्यटनका सम्भावना र चुनौतीबारे बर्दिबास र जलेश्वरमा सरोकारवाला, स्थानीय तह तथा विभिन्न संघसंस्थाको सहभागितामा अन्तरक्रिया आयोजना गरिनेछ।

कार्यक्रममा जिल्लाका पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पर्यटकलाई स्वागत, भिडियो सामग्रीमार्फत निमन्त्रणा सन्देश सम्प्रेषण तथा पर्यटकबाट अतिथि सत्कारसम्बन्धी प्रतिक्रिया संकलन गरिने आयोजकले जनाएको छ।

जलेश्वर र बर्दिबासका मुख्य चोक तथा बजार क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

टुटेश्वरनाथ, जलेश्वरनाथ, मटिहानी, प्राचीन ढुंगे हतियार कारखाना, रौजा मजार, पडौल थान र पञ्चधुरा माईलगायतका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसारमार्फत जिल्लाको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्य रहेको संघले जनाएको छ।

महोत्तरीमा पर्याप्त पर्यटकीय सम्भावना भए पनि आवश्यक प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा पर्यटन क्षेत्र अपेक्षाकृत चलायमान हुन नसकेको व्यवसायीहरूको भनाइ छ। पर्यटन दिवसका अवसरमा आयोजना हुने कार्यक्रमले जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको