आज विश्वकर्मा पूजा मनाइँदै, यस्तो छ धार्मिक विश्वास


कालीगढ तथा विभिन्न पेसा-व्यवसायमा संलग्न समुदायले आज भगवान् विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ।

विश्वकर्मा पूजाका अवसरमा विभिन्न कलकारखाना तथा उद्योगमा भगवान् विश्वकर्माको मूर्ति वा तस्वीर राखेर विधिपूर्वक पूजा आराधना गरिन्छ। कलकारखाना तथा कार्यस्थल सजाएर मजदुर तथा कर्मचारीको सहभागितामा पूजा गर्ने चलन छ। यन्त्र, औजार तथा सवारीसाधनमा समेत पूजा आराधना गरिन्छ।

धार्मिक विश्वासअनुसार विश्वकर्माको पूजा गरी आफूले प्रयोग गर्ने औजार तथा उपकरणको आराधना गरेमा ती सामान लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र कार्यमा सफलता प्राप्त हुने विश्वास छ।

विश्वकर्मासँग द्वापर युगको धार्मिक कथासमेत जोडिएको छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित राखेको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको मान्यताका कारण विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा बसेको बताइन्छ।

प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिने धार्मिक मान्यता छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ गुजरातको समुद्र क्षेत्रमा रहेको विश्वास गरिन्छ।

विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिइन्छ। वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास गरिन्छ।

यही धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा नेपालका कालीगढ तथा प्राविधिक काममा संलग्न व्यक्तिले विश्वकर्मा बाबाको पूजा गरी उनको ज्ञान र सीपको सम्मान गर्ने गर्छन्। विश्वकर्माको पूजा गरेमा आफूमा समेत उहाँका गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

विश्वकर्मा पूजाका दिन इन्जिन जडान भएका विभिन्न यन्त्र, मेसिन तथा सवारीसाधनको समेत पूजा गर्ने गरिन्छ। उद्योग, कलकारखाना, वर्कसप तथा निर्माण क्षेत्रमा प्रयोग हुने औजार र उपकरणको विशेष रूपमा पूजा आराधना गरिन्छ।

यसै दिन वास्तुविद्हरूले वास्तु दिवससमेत मनाउने गर्छन्। वास्तुशास्त्रका अध्येता तथा लेखकहरूका अनुसार वास्तु विद्याको सम्बन्ध स्थापत्य वेदसँग जोडिएको छ। चार उपवेदमध्ये एक मानिने स्थापत्य वेदमा वास्तुशास्त्रसम्बन्धी विषय उल्लेख गरिएको बताइन्छ।

पछिल्लो समय नेपालमा वास्तु विद्याप्रति चासो बढ्दै गएको र परम्परागत ज्ञानमा आधारित सहर तथा आवास निर्माण गर्ने क्रमसमेत बढिरहेको अध्येताहरू बताउँछन्। यससँगै वास्तु विद्याको अध्ययन तथा प्रयोगको महत्वसमेत बढ्दै गएको छ।

विश्वकर्मा पूजाका अवसरमा आज गरिने पूजा आराधनापछि कतिपय स्थानमा मूर्ति तथा पूजाका सामग्री नदी वा अन्य जलाशयमा लगेर विसर्जन गर्ने परम्परा रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको