भोटेकोशी बाढी स् एक हजार २९३ शव फेला, चार हजार ८९८ अझै बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म एक हजार २९३ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार अपराह्नसम्म विभिन्न जिल्लामा ती शव फेला परेका हुन्।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा १९४ जनाको शव फेला परेको छ। भारतमा फेला परेको तथा नवलपरासी पश्चिममा बुझाइएको थप १८ शवसमेत गरी मृतकको संख्या एक हजार २९३ पुगेको प्रहरीले जनाएको छ।

बाढीमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। जसमध्ये एक जनाको शिक्षण अस्पताल र अर्का एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३० शव व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये २२२ महिला, ३५५ पुरुष र ४५३ जनाको लिङ्ग पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

मृतकको पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी कुल दुई हजार १०६ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन नसकेका एक हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ।

प्रहरीका अनुसार बाढी तथा पहिरोका कारण हालसम्म चार हजार ८९८ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको छ।

यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा तीन हजार ६५५ जनालाई राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी कार्य सञ्चालन गर्ने तथा बाढीका कारण अवरुद्ध भएका सडक र बाटो खुलाउने कार्यसमेत जारी राखेको जनाएको छ।khabarhub


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको