रौतहट । चन्द्रपुर नगरपालिकामा नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालबीचको विवादले नयाँ प्रश्न खडा गरेको छ। सार्वजनिक कार्यक्रममा अधिकृत ढकालको खुलेर प्रशंसा गर्ने मेयर काफ्लेले मन्त्रालयमा भने उनकै सरुवाको माग गरेको पत्र बाहिरिएपछि नगर नेतृत्वको दोहोरो भूमिकामाथि प्रश्न उठेको हो।
साउन २६ गते पत्रकार सम्मेलनमा मेयर काफ्लेले ढकाल कानुन तथा प्रशासनका विषयमा दक्ष र योग्य कर्मचारी भएको बताएका थिए। उनले आफू र प्रमुख प्रशासकीय अधिकृतबीच कुनै विवाद नरहेकोसमेत दाबी गरेका थिए।
तर साउन १७ गते नै मन्त्रालयमा पठाइएको पत्रमा भने ढकालमाथि जनप्रतिनिधि तथा कर्मचारीसँग समन्वय गर्न नसकेको र कार्यसम्पादन सन्तोषजनक नभएको आरोप लगाउँदै तत्काल सरुवा गर्न माग गरिएको देखिन्छ। एउटै अधिकृतबारे नौ दिनको अन्तरालमा आएको यस्तो फरक धारणा अहिले चन्द्रपुरको चर्चाको मुख्य विषय बनेको छ।
नगर स्रोतका अनुसार ढकालले जिम्मेवारी सम्हालेपछि इन्धन, विविध खर्च र अन्य आर्थिक कारोबारमा कडाइ गरेका थिए। खर्च नियन्त्रण तथा प्रशासनिक प्रक्रियामा कडाइ भएपछि नगर नेतृत्व र प्रशासनबीच असमझदारी बढेको स्रोतको दाबी छ।
यसबीच केही कर्मचारीमाथि दबाब सिर्जना गर्ने तथा कार्यालयको वातावरण बिगार्ने गतिविधि भएको आरोप पनि लगाइएको छ। केही जनप्रतिनिधिले त्यस्ता गतिविधिमा राजनीतिक संरक्षण रहेको आरोप लगाए पनि आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
विवाद समाधानका लागि उपप्रमुख तथा केही वडाध्यक्षले पहल गरे पनि निकास निस्कन सकेको छैन। प्रशासनिक विवादकै बीच नगरपालिकाको बैंक खाता सञ्चालन, अत्यावश्यक खरिद र नियमित प्रशासनिक काम प्रभावित हुनसक्ने अवस्था देखिएको बताइएको छ।
खाता सञ्चालनमा देखिएको अन्योलले कर्मचारी तथा शिक्षकको तलब भुक्तानीदेखि विपद् व्यवस्थापन र पशु स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री खरिदसम्म असर पर्न सक्ने भन्दै नगरवासी चिन्तित छन्।









