नेपाल तारा माविमा चारकोठे विद्यालय भवनको शिलान्यास


धर्मेन्द्र कुमार कुर्मी – कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-२, मगरघट्टास्थित नेपाल तारा माध्यमिक विद्यालयमा चारकोठे नयाँ विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ।

गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा, उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी तथा पूर्वमन्त्री रुपा विकका प्रतिनिधि सुरज विकले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो। पूर्वमन्त्री विकको पहलमा प्राप्त बजेटबाट भवन निर्माण सुरु गरिएको जनाइएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको बताउँदै नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण कम्पनीलाई गुणस्तरीय, पारदर्शी र तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो।

उपाध्यक्ष चौधरीले गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सुरक्षित र व्यवस्थित सिकाइ वातावरण निर्माणमा नयाँ भवनले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथप्रसाद चाईले भवन निर्माणले विद्यालयको दीर्घकालीन पूर्वाधार आवश्यकतामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै बजेट व्यवस्थापनका लागि पहल गर्ने पूर्वमन्त्री रुपा विक तथा सहयोग गर्ने गाउँपालिकाका जनप्रतिनिधिप्रति आभार व्यक्त गर्नुभयो।

प्रधानाध्यापक देवेश कुमार मौर्यले विद्यालयको पूर्वाधार विकासबाट विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने उल्लेख गर्दै निर्माण कार्य गुणस्तरीय रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

भवन निर्माणको ठेक्का रेसुङ्गा बी.एल. जेभी कम्पनीले पाएको छ। कम्पनीका ठेकेदार तिलकराम पौडेलका अनुसार करिब एक करोड रुपैयाँको लागतमा निर्माण हुने भवन तोकिएको मापदण्डअनुसार निर्धारित समयमै सम्पन्न गरिनेछ।

शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको