जनकपुरधाम। सुनसरी घटनाको विरोधपछि जनकपुरधामसहित धनुषाका विभिन्न क्षेत्रमा उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समन्वय समितिले कर्फ्यु आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले सामाजिक सद्भाव, शान्ति-सुरक्षा र अमनचयन कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको हो।
बैठकले धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, संघ-संस्था, स्थानीय तहका जनप्रतिनिधि तथा सञ्चारकर्मीलाई आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।
बैठकले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा पुराना घटनालाई उक्साहटपूर्ण रूपमा प्रचार–प्रसार नगर्ने सहमति पनि गरेको छ। साथै कुनै पनि धर्म वा समुदायप्रति घृणा फैलाउने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधिलाई निरुत्साहित गर्ने निर्णय गरिएको छ।
प्रतिनिधिसभा सदस्य रामविनोद यादवका अनुसार विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी विश्वास र सहिष्णुता अभिवृद्धि गर्न जनकपुरधामसहित प्रभावित स्थानीय तहमा सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिनेछ।
उनका अनुसार शनिबार बिहान ८ बजे जनकपुरधामसहित जिल्लाका विभिन्न स्थानमा सर्वदलीय तथा सर्वपक्षीय सद्भाव र्याली निकालिने कार्यक्रम तय गरिएको छ।









