बर्दिबास-महाेत्तरीकाे गौशाला नगरपालिकाको कार्यालयमा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएपछि भंगहा नगरपालिकाका कर्मचारीहरूले त्यसको कडा विरोध जनाएका छन् ।
शुक्रबार जारी गरिएको संयुक्त विज्ञप्तिमा कर्मचारीहरूले कुनै पूर्वसूचना वा समन्वयबिना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको घटनाले स्थानीय तहका कर्मचारीहरूमा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको उल्लेख गरेका छन् ।
उनीहरूले स्थानीय सरकारको जिम्मेवारी निर्वाह गरिरहेका नगर प्रहरीमाथि भएको यस्तो व्यवहारले संविधानले स्थानीय तहलाई दिएको अधिकार र कर्मचारीको मनोबलमाथि प्रतिकूल असर परेको बताएका छन् ।
विज्ञप्तिमा पक्राउ परेका आठै जना नगर प्रहरीलाई तत्काल रिहा गर्न साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्थानीय तहका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
भंगहा नगरपालिकाका कर्मचारीहरूले स्थानीय सरकारअन्तर्गत कार्यरत कर्मचारीको सम्मान र सुरक्षामा कुनै सम्झौता गर्न नसकिने स्पष्ट पार्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले कानुनी शासन र अन्तरसरकारी समन्वयको भावना विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।
असार १९ गते जारी गरिएको उक्त विज्ञप्तिमा भंगहा नगरपालिकाका विभिन्न शाखामा कार्यरत दर्जनौँ राष्ट्रसेवक कर्मचारीहरूले हस्ताक्षर गर्दै पक्राउ परेका नगर प्रहरीप्रति ऐक्यबद्धता जनाएका छन् ।









