महोत्तरी -विक हत्या प्रकरणमा पक्राउ परेका पूर्व सांसद लक्ष्मी महतो कोइरी लाई आज जिल्ला अदालत जलेश्वरमा पेस गरिँदै छ।
महोत्तरी प्रहरीले बिहीबार गौशालाबाट पक्राउ गरेका कोइरीलाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराउन लागेको हो। प्रहरीका अनुसार अदालतको आदेशपछि उनलाई कारागार पठाइने तयारी गरिएको छ। स्रोतका अनुसार उनलाई जलेश्वर कारागार पठाउने तयारी भए पनि प्रहरीले त्यसबारे औपचारिक पुष्टि गरेको छैन।
ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विक को हत्या प्रकरणमा उच्च अदालत जनकपुर ले २०८३ असार १७ गते पाँच वर्ष कैद सजाय सुनाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०८३ असार १८ गते साँझ गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट कोइरीलाई नियन्त्रणमा लिइएको थियो। यसअघि महोत्तरी जिल्ला अदालत ले २०८० मंसिर २८ गते दिएको फैसला उल्टाउँदै उच्च अदालतले कैद सजाय सुनाएको थियो।
प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएका कोइरीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।









