बर्दिबास नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


माधव पौडेल
बर्दिबास, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका औपचारिक रूपमा ’नगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको विशेष कार्यक्रममा नगरभित्रका सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार आवश्यक सबै खोप प्राप्त गरेको पुष्टि भएपछि नगरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै घोषणा सभाका सभाध्यक्ष तथा नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले बालबालिकाको स्वास्थ्य सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चितता केवल घोषणा मात्र नभई आगामी दिनमा पनि यसको दिगोपना कायम राख्ने जिम्मेवारी सबैको भएको बताए । उनले जन्मिने प्रत्येक बालबालिकाले समयमै सबै खोप पाउने वातावरण सुनिश्चित गर्न नगरपालिका निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य शाखाका प्रमुख सुरेश पासनवानले नगरभित्र रहेका सबै वडामा घरधुरी सर्वेक्षण, खोकप अभिलेखको परीक्षण, स्वास्थ्य संस्थाको तथ्यांक प्रमाणीकरण तथा अनुगमनपछि आवश्यक मापदण्ड पूरा भएकाले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जानकारी दिए । उनले खोप लगाउने उमेर समुहका करीव १३०० वालवालिकालाई नगरभरीका ४५ वटा खोप केन्द्र मार्फत नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने गरी स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएको बताए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थाका प्रमुख तथा खोप कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याउने विभिन्न व्यक्ति र संस्थाको योगदानको प्रशंसा गरिएको थियो । उनीहरूले घर–घरमा पुगेर अभिभावकलाई खोपको महत्व बुझाउने, छुटेका बालबालिकाको खोजी गर्ने तथा नियमित खोप सेवामा सहभागी गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मधेश प्रदेश स्वास्थय निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले खोपले बालबालिकालाई दादुरा, पोलियो, क्षयरोग, डिफ्थेरिया, लहरे खोकी, टिटानस, हेपाटाइटिस–बी, रुबेला लगायतका विभिन्न सरुवा रोगबाट सुरक्षित राख्ने भएकाले प्रत्येक अभिभावकले राष्ट्रिय खोप तालिकाअनुसार आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथिको तर्फवाट स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साहलेले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई यसको दिगोपना कायम राख्नु अझ ठूलो चुनौती भएको उल्लेख गर्दै जन्मिने प्रत्येक बालबालिकाको समयमै दर्ता, नियमित स्वास्थ्य परीक्षण तथा खोप सेवामा पहुँच सुनिश्चित गर्न सबै सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको बताए । खोप लगाएमा मात्र पनि २० प्रतिशत रोगहरु लाग्नवाट वच्न सकिने कुरा वताए ।

नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बर्दिबास नगरपालिकाले आवश्यक सूचकहरू पूरा गरेपछि नगरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। यस घोषणासँगै नगरपालिकाले आगामी वर्षहरूमा पनि नियमित अनुगमन, तथ्यांक अद्यावधिक, छुटेका बालबालिकाको खोजी तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

बर्दिबास नगरपालिका परिसरमा आयोजित घोषणा सभामा शिक्षा शाखा प्रमुख रेवति पराजुली, नगर प्रकक्ता विजय महतो तथा विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी को उल्लेख्य सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको