नगरसभामा पत्रकारलाई सहभागी नगरिएको भन्दै बर्दिबास पत्रकार सञ्जालको आपत्ति, सोमबारभित्र माग सम्बोधन गर्न अल्टिमेटम


बर्दिबास । बर्दिबास नगरपालिकाले स्थानीय सञ्चारमाध्यम तथा पत्रकारलाई सार्वजनिक सूचना र महत्वपूर्ण कार्यक्रममा सहभागी गराउनबाट वञ्चित गरेको भन्दै बर्दिबास नगर पत्रकार सञ्जाल, महोत्तरीले कडा आपत्ति जनाएको छ। सञ्जालले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सोमबारभित्र आफ्ना माग सम्बोधन गर्न अल्टिमेटम दिएको हो।
हालै सम्पन्न नगरसभाबारे स्थानीय सञ्चारमाध्यमलाई कुनै औपचारिक जानकारी नदिइएको तथा पत्रकारलाई कार्यक्रममा सहभागी नगराइएको विषयलाई लिएर सञ्जालले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको छ। पत्रकार ईश्वरी काफ्लेका अनुसार निर्धारित समयभित्र माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।
सञ्जालका सचिव विशाल बस्नेतले नगरसभा नगरवासीको प्रत्यक्ष चासो र सरोकारको विषय भएकाले नीति, कार्यक्रम तथा बजेटजस्ता महत्वपूर्ण विषय पारदर्शी र खुला ढंगले सार्वजनिक हुनुपर्ने बताए। उनले नगर प्रमुखको फेसबुकमार्फत मात्रै नगरसभा सम्पन्न भएको जानकारी प्राप्त भएपछि केही सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै पत्रकारलाई जानकारी नै नदिनु र कार्यक्रमबाट टाढा राख्नु उचित नभएको बताए।
सञ्जालले ज्ञापनपत्रमार्फत नगरसभा जस्ता सार्वजनिक महत्वका कार्यक्रमबाट सञ्चारमाध्यमलाई अलग राख्नु नागरिकको सूचनाको हकमाथि नै प्रत्यक्ष असर पर्ने जनाएको छ। सूचना र प्रविधिको युगमा सञ्चार क्षेत्रलाई बेवास्ता गरेर गरिने कुनै पनि कार्यले पारदर्शितामाथि प्रश्न उठाउने र अनावश्यक शंका पैदा गर्ने सञ्जालको भनाइ छ।
सञ्जालले स्थानीय सरकारसँग सञ्चार क्षेत्रप्रति समान व्यवहार गर्दै सूचना, सहभागिता र सहकार्य सुनिश्चित गर्न माग गरेको छ। साथै बर्दिबासको विकास र समृद्धिलाई केन्द्रमा राखी दीर्घकालीन सञ्चार नीति निर्माण गर्न, सञ्चार संस्था तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धि, लोककल्याणकारी विज्ञापन, फेलोसिप तथा पुरस्कारजस्ता कार्यक्रममार्फत सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धनमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
ज्ञापनपत्रमा सञ्चार क्षेत्रलाई सुदृढ बनाउन सके बर्दिबासको कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटनलगायतका क्षेत्रमा पत्रकारहरूले स्वतन्त्र र जिम्मेवार ढंगले कलम चलाउने वातावरण बन्ने तथा त्यसले नगरको समग्र विकासमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले सञ्चारमाध्यम र पत्रकार लोकतन्त्रका आधारस्तम्भ तथा सुन्दरता भएकाले सार्वजनिक सूचनामा कुनै प्रकारको बन्देज लगाउन नहुने बताए। उनले नगरपालिकाले भएको कमजोरी तत्काल सच्याउँदै सूचना प्रवाहलाई खुला, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने धारणा राखे।
उनले भने, “पत्रकार र सञ्चारमाध्यमलाई सूचना तथा सार्वजनिक गतिविधिबाट वञ्चित गर्नु लोकतान्त्रिक अभ्यासको मर्मविपरीत हो। स्थानीय सरकारले आफ्नो कमजोरी स्वीकार गर्दै यस्ता घटना पुनः नदोहरिने प्रतिबद्धता जनाउनुपर्छ।”
यता, बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले पत्रकार सञ्जालको ध्यानाकर्षण पत्र प्राप्त भएको र त्यसप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले संवाद र छलफलमार्फत सञ्जालले उठाएका विषयको समाधान खोज्दै सहकार्यको वातावरण निर्माण गर्न नगरपालिका सकारात्मक रहेको बताए।
सञ्जालले अन्त्यमा नगरपालिका नेतृत्वबाट अपेक्षाअनुसारको सहकार्य नपाए पनि संवाद र सहकार्यको माध्यमबाट नै अगाडि बढ्न चाहेको उल्लेख गर्दै अनावश्यक टकराव कसैको हितमा नहुने भएकाले ज्ञापनपत्रमार्फत गम्भीर ध्यानाकर्षण गराइएको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको