काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयसम्म राखेर सोधपुछ गरिएको घटनालाई स्वीकार गरेका छन्।
चितवनमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगतका अनियमितता र सरकारी सम्पत्तिको दोहनबारे छानबिन गर्न आवश्यक परे अख्तियारसँग लामो समयसम्म पनि छलफल र सोधपुछ गर्न सकिने बताएका हुन्।
केही दिनअघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अख्तियारका प्रमुख प्रेमकुमार राई सहितका पदाधिकारीलाई करिब ९ घण्टासम्म राखेर केरकार शैलीमा दबाब दिएको विषय सार्वजनिक भएपछि त्यसको व्यापक आलोचना भइरहेको छ। सरकारमाथि निगरानी राख्ने संवैधानिक निकायमाथि हस्तक्षेप भएको भन्दै विभिन्न क्षेत्रबाट प्रश्न उठाइएको छ।
यही विषयमा बोल्दै प्रधानमन्त्री शाहले अख्तियारसँग गरिएको सोधपुछलाई उचित ठहर गरे। उनले भने, “पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि सोध्न सक्छौँ। निहुँ खोज्दै गर्दा अख्तियारलाई पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने पाँच घण्टा मात्रै होइन, पाँच वर्ष नै राखेर सल्लाह गरिन्छ। हामी नियम र कानुनभन्दा बाहिर जाँदैनौँ।”
प्रधानमन्त्री शाहले आफ्नो पार्टी विकास, सुशासन र परिणाममुखी काममा केन्द्रित रहेको दाबी गर्दै विगतमा भएका अनियमितता तथा सरकारी सम्पत्तिको दुरुपयोगबारे खोजबिन आवश्यक रहेको बताए। “हाम्रो पार्टी विकासवादी हो, काम गर्ने पार्टी हो, अगाडि बढ्ने पार्टी हो। हामी प्रतिशोधको राजनीति गर्ने होइनौँ। तर विगतमा फट्याइँ भएको छ, सरकारी सम्पत्तिको दोहन भएको भेटिए त्यसको खोजबिन गर्नुपर्छ,” उनले भने।
यसैबीच प्रधानमन्त्रीका सहयोगीहरूले अख्तियारका अधिकारीहरूसँग मात्र नभई नेपालका लागि जर्मनीका राजदूत उडो भोल्ज सँग पनि असहज व्यवहार गरेको विषय सार्वजनिक भएको छ। राहदानी छपाइसम्बन्धी विषयमा जानकारी लिने क्रममा प्रधानमन्त्रीका सहयोगी सुवास शर्मा सहितको टोलीले राजदूतसँग आपत्तिजनक व्यवहार गरेको आरोप लागेको छ।
त्यस्तै निर्वाचन आयोगका केही पदाधिकारी पनि प्रधानमन्त्रीका सहयोगीहरूको अपमानजनक व्यवहारको शिकार भएको चर्चा छ। पछिल्ला घटनापछि संवैधानिक निकायहरूको स्वतन्त्रता, सरकारको भूमिका र शक्ति सन्तुलनबारे राजनीतिक तथा प्रशासनिक वृत्तमा बहस चर्किएको छ।


















