रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली, दाबी–विरोधका लागि समयसीमा तोकियो


७ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय निर्वाचन आयोगले पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

आयोगले आइतबार बिहान सूचना जारी गर्दै प्रतिनिधिहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो। प्रकाशित नामावलीमा नाम छुटेको, विवरण सच्याउनुपर्ने वा दाबी–विरोध गर्नुपर्ने प्रतिनिधिलाई चितवनस्थित औद्योगिक प्रदर्शनी स्थलमा रहेको महाधिवेशन सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

त्यस्तै, नामावलीमा नाम समावेश भए पनि पार्टी सदस्यता नम्बर उल्लेख नभएका, लेभी भुक्तानी नगरेका वा पार्टीको आधिकारिक पोर्टलमा अभिलेख नरहेका प्रतिनिधिलाई आवश्यक प्रमाणसहित निर्वाचन आयोगको सचिवालयमा उपस्थित हुन भनिएको छ।

निर्वाचन आयोगका अनुसार नामावली सम्बन्धी दाबी–विरोध तथा विवरण सच्याउने अन्तिम समय असार ८ गते बिहान १० बजे सम्म तोकिएको छ। निर्धारित समयभित्र सम्पर्क नगर्ने प्रतिनिधिहरूको नाम अन्तिम नामावलीबाट हटाइने चेतावनी आयोगले दिएको छ।

यसैबीच आयोगले उम्मेदवारी सम्बन्धी कडा व्यवस्था पनि सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन आयुक्त भुवन केसी द्वारा जारी विज्ञप्तिअनुसार पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशनमा कुनै पदका लागि उम्मेदवार भई पराजित भएका सदस्यहरूले राष्ट्रिय महाधिवेशन अन्तर्गतका कुनै पनि पदमा उम्मेदवारी दिन पाउने छैनन्।

उक्त व्यवस्था विपरीत उम्मेदवारी दर्ता गरिएमा त्यस्तो उम्मेदवारी स्वतः रद्द हुने आयोगले जनाएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ, जहाँ नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको