सिरहा नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी भएपछि सम्पर्कविहीन


सिरहा। सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन बनेका छन्।

नगरपालिकामा कार्यरत कार्यालय सहयोगीमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएपछि प्रहरीले बिहीबार पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीका अनुसार नगरप्रमुख यादवले गत सोमबार बिहान करिब ९ बजे हाजिरी गरिरहेको अवस्थामा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार पक्राउ पुर्जी जारी भएपछि उनको खोजीकार्य तीव्र पारिएको छ। तर, हालसम्म उनी प्रहरी नियन्त्रणमा आएका छैनन्।

प्रहरीका अनुसार बिहीबार अपराह्नसम्म मोबाइल अनमै राखेका यादव त्यसपछि मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका छन्। उनी हुन सक्ने सम्भावित स्थानहरूमा प्रहरी टोली परिचालन गरिएको छ। भारततर्फ भागेको आशंका समेत गरिएको प्रहरीले जनाएको छ।

यसै घटनामा संलग्न रहेका नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ।

कुटपिटबाट घाइते भएका रामशरण यादवको विराटनगरमा उपचार भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको