गौशाला, महोत्तरी। महोत्तरीको गौशाला बजारमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान पुनः सञ्चालन हुने भएको छ। आइतबार गौशाला नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गर्दै बन्द रहेको बजारसमेत खुला गरिएको छ।
नगर प्रमुख डा. दिपेन्द्र महतोका अनुसार सोमबारदेखि अभियान पुनः सुरु हुनेछ र यसको नेतृत्व वडा नम्बर ५ का अध्यक्ष ओमप्रकाश गुप्ताले गर्नेछन्।
बैठकले विगतमा देखिएका कमजोरी सुधार गर्दै सहमति र समन्वयका आधारमा अभियान अघि बढाउने निर्णय गरेको छ। यसअघि गरिएको बजार बन्दको निर्णय पनि फिर्ता लिइएको छ।
अभियानका क्रममा केही सटरहरूमा क्षति पुगेको स्वीकार गर्दै नगर प्रमुख महतोले प्रमाणसहित निवेदन दिएमा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्।
वडा अध्यक्ष गुप्ताले अब अभियान बिना दबाब र सहमतिका आधारमा सञ्चालन गरिने स्पष्ट पार्दै बजार पूर्ण रूपमा खुला भइसकेको जानकारी दिए।
यसैबीच बजार क्षेत्रभित्र पर्ने चर्चित ११५ नम्बर कितामा रहेका अव्यवस्थित कठघराहरू हटाउने कार्यसमेत सुरु गरिएको छ। नगर प्रहरीका अनुसार खाली संरचना हटाइसकिएको छ भने बाँकीबाट सामान हटाउन दुई दिनको समय दिइएको छ।
अभियान सफल बनाउन नगरपालिका, सरोकारवाला निकाय र स्थानीय समुदायबीच समन्वय गरिने जनाइएको छ। बजारलाई व्यवस्थित र आकर्षक नबनाएसम्म अभियान जारी रहने नगरपालिकाले जनाएको छ।
यसअघि अभियानका क्रममा विवाद उत्पन्न भएपछि शनिबारदेखि स्थगित गरिएको थियो। व्यापारी र अभियानीबीच सहमति भएपछि आइतबारको बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।



















