बर्दिवास उद्योग वाणिज्य संघ चुनाव: दिपक कार्की प्यानलद्वारा ४ बुँदे घोषणापत्र सार्वजनिक


बर्दिवास, महोत्तरी। बर्दिवास उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार दीपक बहादुर कार्कीले आफ्नो प्यानलसहित ४ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्।

“व्यावसायिक विकास र समृद्धिको साझा संकल्प” नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा कार्कीले प्रभावकारी नेतृत्वका लागि सक्षम टोली आवश्यक रहेको उल्लेख गरेका छन्। उनले व्यवसायीहरूको हकहित संरक्षण, बजार व्यवस्थापन र दीर्घकालीन आर्थिक समृद्धिका लागि समन्वयात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

कार्की प्यानलले साना तथा ठूला व्यवसायीबीचको दूरी घटाउँदै पुँजीका आधारमा वर्गीकरण गरी समान अवसर सुनिश्चित गर्ने योजना अघि सारेको छ। घरभाडा, घरधनी–व्यवसायी सम्बन्ध र स्थानीय करका समस्यामा संघले सक्रिय भूमिका खेल्ने जनाएको छ।

त्यसैगरी बजार व्यवस्थापन अन्तर्गत सडक किनारका साना व्यवसायीहरूको व्यवस्थापन, बजार सुरक्षामा सुधार तथा नगरपालिकासँग सहकार्य गरी पार्किङ, फुटपाथ, ढल निकास, सार्वजनिक शौचालय र प्रतीक्षालय निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ।

बर्दिवासलाई ट्रान्जिट सहरबाट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित रात्रिकालीन बजार सञ्चालन र ‘Stay Bardibas’ प्याकेजमार्फत पर्यटक आकर्षित गर्ने अवधारणा पनि अघि सारिएको छ।

व्यवसायीहरूका लागि कानुनी परामर्श डेस्क स्थापना, निजी अस्पतालसँग सहकार्य गरी स्वास्थ्य सेवामा सहुलियत तथा महिला उद्यमीका लागि सीपमूलक तालिम सञ्चालन गर्ने योजना समेत घोषणापत्रमा समेटिएको छ।

कार्कीले “सुरक्षित लगानी, मर्यादित पेशा र समृद्ध बर्दिवास” आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्दै सम्पूर्ण व्यवसायीलाई आफ्नो प्यानललाई समर्थन गर्न अपिल गरेका छन्।

उक्त प्यानलले आगामी चैत २४ गते हुने निर्वाचनमा ‘डमरु’ चुनाव चिन्ह पाएको छ भने विपक्षी प्यानल ‘कलश’ चिन्हसहित मैदानमा रहेको छ।

घोषणापत्रका बुँदाहरू

१. सानो लगानी, ठूलो सम्मान: हाम्रो अभियान

  • व्यवसायी वर्गीकरण: पुँजीगत आधारमा व्यवसायीहरूको वर्गीकरण गरी सङ्घमा आवद्ध गराउने र सबैलाई समान अवसरको सुनिश्चितता गर्ने।
  • समस्या समाधानमा पहल: घरभाडा सम्झौता, घरधनी-व्यवसायी सम्बन्ध र स्थानीय करका क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न प्रभावकारी पहल गर्ने।
  • बजार सुरक्षा र व्यवस्थापन: सडक छेउका साना व्यवसायीहरूको उचित व्यवस्थापन गर्दै उनीहरूको व्यवसाय र बजार सुरक्षाको ग्यारेन्टी गर्ने।

२. व्यवस्थित बर्दिवास, सुन्दर बजार

  • पार्किङ व्यवस्थापन: नगरपालिकासँगको समन्वयमा बजार क्षेत्रभित्र व्यवस्थित पार्किङ स्थलको निर्माण गर्ने।
  • पूर्वाधार विकास: फुटपाथ र ढल निकासको उचित व्यवस्थापनका साथै बजार क्षेत्रमा सार्वजनिक शौचालय र प्रतीक्षालयहरूको निर्माण गर्ने।

३. ‘ट्रान्जिट’ होइन, पर्यटकीय गन्तव्य बर्दिवास

  •  रात्रिकालीन बजार: बर्दिवासको आर्थिक गतिविधिलाई चलायमान बनाउन रात्रिकालीन बजारको अवधारणालाई कार्यान्वयन गर्ने।
  • ‘Stay Bardibas’ प्याकेज: स्थानीय होटल तथा ट्राभल्स व्यवसायीहरूसँग मिलेर बाह्य तथा आन्तरिक पर्यटकहरूलाई बर्दिवासमा टिकाउन विशेष प्याकेजहरूको प्रवर्द्धन गर्ने।

४. उद्योगी-व्यवसायी सहजता: हाम्रो प्रतिवद्धता

  • कानुनी परामर्श डेस्क: व्यवसायीहरूलाई आइपर्ने कानुनी अड्चनहरू सुल्झाउन सङ्घभित्रै ‘व्यवसायी कानुनी परामर्श डेस्क’ स्थापना गर्ने।
  •  स्वास्थ्य सेवामा सहुलियत: व्यवसायी र उनीहरूका परिवारका लागि निजी अस्पतालहरूसँग समन्वय गरी विशेष उपचार सहुलियत (डिस्काउन्ट) को व्यवस्था मिलाउने।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको