सर्लाही। सर्लाहीको कविलासी नगरपालिका-२, पिपरिया स्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर एसईई परीक्षा सञ्चालन भइरहेका बेला मोबाइलमा प्रश्नपत्र भेटिएपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कविलासी नगरपालिका-५, पचगछिया निवासी मनोज यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार परीक्षा केन्द्र बाहिर बसिरहेका यादवको मोबाइलमा बिहीबार सञ्चालन भइरहेको अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र रहेको सूचना पाएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार यादवको मोबाइलबाट प्रश्नपत्र फेला परेपछि उनलाई नियन्त्रणमा लिएर थप कारवाही अघि बढाइएको छ। उनले प्रश्नपत्र कहाँबाट प्राप्त गरे भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ।
स्रोतका अनुसार पक्राउ परेका यादवकै परिवारका एक सदस्य सोही परीक्षा केन्द्रमा एसईई परीक्षा दिइरहेका छन्।
यस वर्षदेखि एसईई परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन लैजान नदिने व्यवस्था गरिएको छ। साथै, परीक्षार्थीका अभिभावक तथा शुभेच्छुकलाई परीक्षा केन्द्रको २०० मिटर वरपर बस्न समेत निषेध गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ।









