काठमाडौं। जेनजी आन्दोलनपछि सुशासनको नारा लिएर गठन भएको नयाँ सरकारका एक मन्त्रीको विगतलाई लिएर विवाद उत्पन्न भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साह को पृष्ठभूमि सम्बन्धी पुरानो ठगी प्रकरण पुनः चर्चामा आएको हो।
उनी विगतमा एमबीबीएस परीक्षामा पास गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति भएको विवरण सार्वजनिक भएको छ। काठमाडौंको पुतलीसडकस्थित एक कन्सल्टेन्सीमार्फत उनले यस्तो गतिविधि गरेको आरोप लागेको थियो।
सो प्रकरणमा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा ले उनलाई पक्राउ गरेको थियो। घटनामा सिन्धुलीका गणेश अधिकारीसमेत संलग्न रहेको बताइएको छ।
स्रोतका अनुसार साहले आफूलाई चिकित्सक भएको भनी भ्रम सिर्जना गर्दै विभिन्न व्यक्तिहरूसँग चिनजान रहेको भन्दै काठमाडौं विश्वविद्यालयबाट हुने एमबीबीएस परीक्षामा पास गराइदिने आश्वासन दिएका थिए। सोही क्रममा सायसा पन्तबाट २ लाख रुपैयाँ ठगी गरिएको उल्लेख छ।
घटनापछि पीडितहरूले उजुरी दिएपछि प्रहरीको टोलीले २०७२ असोज १२ गते अधिकारीलाई नियन्त्रणमा लिएको थियो भने त्यसको भोलिपल्ट साहलाई पनि पक्राउ गरिएको थियो। दुवै जनालाई ठगी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको थियो।
त्यतिबेला प्रहरीले सार्वजनिक गरेको विवरणमा साहले आफूलाई डाक्टर बताउँदै ठगी गर्ने गरेको र उनी वास्तविक डाक्टर नभएको खुलासा भएको उल्लेख थियो।
हाल यस्तै विवादास्पद पृष्ठभूमिका बीच बालेन्द्र साह नेतृत्वको सरकारमा उनी श्रममन्त्री बनेका छन्। यस विषयले सरकारको छविमा असर पार्न सक्ने भन्दै विभिन्न प्रतिक्रिया आउने क्रम जारी रहेको छ।










