महोत्तरी। महोत्तरीमा प्रहरीले १०९ किलो ६१० ग्राम अवैध लागूऔषध गाँजासहित एक भारतीय नम्बरको कार नियन्त्रणमा लिएको छ।
मिति २०८२ फागुन २८ गते राति करिब ११:२० बजे लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले रामगोपालपुर नगरपालिका-७ स्थित बेवारिसे अवस्थामा रहेको भारतीय नम्बर प्लेट DL-1CQ 5869 को कार फेला पारेको हो।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा रहेको कारभित्र चालक नभएपछि कार खोलि तलासी गर्दा पछाडिको डिकीमा रातो प्लास्टिकले बेरी कालो प्लास्टिकको डोरीले बाँधेर राखिएको अवस्थामा २० पोका गाँजाजस्तो देखिने पदार्थ लुकाईछिपाई राखिएको फेला परेको थियो।
उक्त पदार्थसहित कारलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई डिजिटल तराजुमा तौल गर्दा २० पोकाको कुल तौल १०९ किलो ६१० ग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद भएको गाँजा र कार नियन्त्रणमा लिएर घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।











