२३ फागुन, महोतरी – मिथलेश सिंह। महोतरी निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमोदकुमार महतो फराकिलो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
महतोले ३४ हजार ६ सय ३६ मत प्राप्त गर्दै नेकपाका गिरिराजमणि पोखरेललाई २१ हजार ७ सय १२ मतान्तरले पराजित गरेका हुन्। पोखरेलले १२ हजार ९ सय २४ मत प्राप्त गरेका छन्।
महतोले यस क्षेत्रमा पटक-पटक निर्वाचित हुँदै आएका स्थापित नेताहरू गिरिराजमणि पोखरेल र एमालेका लक्ष्मी महतोलाई पराजित गर्दै जित हासिल गरेका हुन्।
गौशाला नगरपालिका-८ भन्टाबारीका ४० वर्षीय महतोले एसएलसीसम्म अध्ययन गरेका छन्। क्रसर व्यवसायबाट राजनीतिमा प्रवेश गरेका उनी लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एमाले हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन्।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि लोसपाबाट नाम सिफारिस भएका महतो २०७९ सालको प्रदेशसभा निर्वाचनमा महोतरी क्षेत्र नं. १ (२) बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए, तर त्यतिबेला पराजित भएका थिए।









