बर्दिबासमा मतदान गरेर फर्किने क्रममा युवक माथि आक्रमण


महोत्तरी। बर्दिबास नगरपालिका-७ निवासी नागेन्द्र कुमार सिंहमाथि अज्ञात समूहले आक्रमण गरेको छ।

श्री राष्ट्रिय माध्यमिक विद्यालय प्रेमनगरस्थित ‘बी’ मतदान केन्द्रबाट दिउँसो करिब २ बजेतिर मतदान गरेर घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको बताइएको छ।

पीडित सिंहका अनुसार उनले पहिले आफ्नो मत खसाली घरमा रहेकी हजुरआमालाई पनि मतदान गर्न लैजान घर गएका थिए। तर घरमा कोही नभेटिएपछि हजुरआमालाई घरमै छोडेर पुनः मतदान केन्द्रतर्फ फर्किने क्रममा अज्ञात समूहले आफूलाई आक्रमण गरेको उनले बताए।

सिंहले भने, “मलाई उनीहरूको फोटो देखाइयो भने सबैलाई चिन्न सक्छु, तर म केही समयदेखि बाहिर बस्दै आएकाले अहिले अनुहारबाट तुरुन्तै चिन्न गाह्रो भएको छ।”

यता नेकपा केन्द्रिका बर्दिबास नगरपालिका वडा नम्बर-७ का प्रत्याशी उम्मेदवार सुरेन्द्र महतोका अनुसार उक्त घटना हालका वडा अध्यक्ष राम सोगारथ भोरिल यादवको परिवारसँग सम्बन्धित व्यक्तिहरूबाट भएको आरोप लगाइएको छ।

तर वडा अध्यक्ष राम सोगारथ भोरिल यादवसँग यस विषयमा सोधपुछ गर्दा उनले भने, “यस घटनाबारे हामीलाई कुनै जानकारी छैन।”

यस घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमले जानकारी दिएका छन्। प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरूको खोजतलास गरिरहेको जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको