१४ फागुन, सिरहा। चुनाव नजिकिँदा नेताहरू बस्ती पस्छन्, हात जोड्छन्, विकासका सपना बाँड्छन् र भोट माग्छन्। तर चुनाव सकिएपछि ती वाचा हराउँछन् र विकासका अपेक्षा फेरि अधुरै रहन्छन्। यही पीडा सिरहा क्षेत्र नम्बर-२ अन्तर्गत सुखीपुर नगरपालिका-१ स्थित शिवनगर गाउँका बासिन्दाले वर्षौंदेखि भोग्दै आएका छन्।
शिवनगरमा करिब १२५ दलित परिवारको बसोबास छ। हरेक निर्वाचनमा उनीहरूको मुख्य माग दुईवटै रहँदै आएको छ-बालबालिकाका लागि व्यवस्थित विद्यालय र नजिकै सरकारी अस्पताल। तर यी आधारभूत आवश्यकताहरू अझै पूरा हुन सकेका छैनन्।
स्थानीय श्रीवती मोची भन्छिन्, ‘हाम्रो माग नजिकै राम्रो विद्यालय र अस्पताल हो। भएको आधारभूत विद्यालयको भवन नै राम्रो छैन, व्यवस्थापन पनि कमजोर छ। नजिक सरकारी अस्पताल छैन।’
शिवनगरको उत्तरतर्फ रहेको आधारभूत विद्यालयको भौतिक अवस्था अत्यन्तै कमजोर छ। सुखीपुर-१ कै कमलपुरमा रहेको जनता माध्यमिक विद्यालयसम्म पुग्न साना बालबालिकालाई कठिनाइ हुने स्थानीयवासीको गुनासो छ।
स्थानीय शान्तिदेवी राम भन्छिन्, ‘भोट दिँदा-दिँदा हामी थाकिसक्यौँ, तर नेताहरू भोट माग्न थाकेका छैनन्।’ उनका अनुसार गाउँका अधिकांश पुरुष रोजगारीका लागि विदेशिएका छन्। ‘यहाँ रोजगारी छैन। श्रीमान् र छोराहरू वैदेशिक रोजगारमा छन्। उताबाट पठाएको पैसाले घर चल्छ। कम्तीमा नातिनतिनाले राम्रोसँग पढ्न पाउँदा र हामीले उपचार पाउँदा खुसी हुन्थ्यौँ,’ उनले भनिन्।
स्थानीय हरिनारायण रामले दलित समुदायलाई नेताहरूले ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग गरेको आरोप लगाए। ‘वर्षौँदेखि हामी भोट बैंक मात्रै भएका छौँ। हाम्रो अवस्था जस्ताको त्यस्तै छ,’ उनले भने। अब नेताहरूका भाषणमा विश्वास गर्ने समय सकिएको उनको भनाइ छ।
चुनावको मिति नजिकिँदै जाँदा शिवनगरका बासिन्दाले फेरि एकपटक आफ्ना आधारभूत माग दोहोर्याएका छन् – शिक्षा र स्वास्थ्यमा ठोस पहल। तर उनीहरू भन्छन्, यसपालि आश्वासन होइन, परिणाम चाहिएको छ।



















