२९ माघ, बर्दिबास। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा चालु आर्थिक वर्षको पछिल्ला छ महिनामा दुई हजार ५२५ वटा भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी धनुषा जिल्लाका ७८० उजुरी रहेका छन्।
प्रदेश राजधानीसमेत रहेको धनुषामा १८ वटा स्थानीय तह रहेका छन्। कार्यालयका उपसचिव प्रकाश पोखरेलका अनुसार दर्ता भएका उजुरीमध्ये ८१२ वटा फर्छ्यौट भइसकेका छन् भने एक हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका छन्।
उहाँका अनुसार कुल उजुरीमध्ये ७२ दशमलव ६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्। जिल्लागत रूपमा धनुषापछि महोत्तरीका ५१४, सिरहाका ४८१, सर्लाहीका ३९७ र सबैभन्दा कम सोलुखुम्बूका ३९ उजुरी दर्ता भएका छन्।
आयोगमा दर्ता भएका उजुरीको ‘स्क्रिनिङ’ गरी प्रारम्भिक तथा विस्तृत छानबिनपछि तामेली गर्ने, आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाइने उपसचिव पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार चालु आवको छ महिनामा ६०५ उजुरी तामेली, १० वटा सुझावसहित तामेली, ७९ उजुरी आवश्यक कारबाहीका लागि लेखी पठाइएको तथा ११८ उजुरी एकीकरण गरिएको छ।
आयोगको बर्दिवास क्षेत्रीय कार्यालयअन्तर्गत मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुंगा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशका सिन्धुली र रामेछाप जिल्ला पर्दछन्। मधेसका रौतहट, बारा र पर्सा हेटौँडा कार्यालय तथा सप्तरी इटहरी कार्यालयको क्षेत्राधिकारमा पर्ने गर्दछ।
आयोगको बर्दिवास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रणका लागि आयोग सदाचार, निष्पक्षता र निर्भीकताका साथ काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।









