९ माघ, बर्दिबास – मिथलेश सिंह। आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वती माताको पूजा-आराधना गरी मनाइँदै छ।
विद्याकी देवी सरस्वती माता भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले आफ्ना कला-साधनाका वस्तु जस्तै कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानी पूजा गर्ने चलन छ। तान्त्रिकहरूले सरस्वतीलाई तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि मान्ने उल्लेख छ।
जनविश्वास अनुसार आजको दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ। यसै दिन विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। बालबालिकालाई शिक्षारम्भ गराउने तथा नाक-कान छेड्ने कार्य पनि शुभ मानिन्छ।
धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर-बर्दिबास-गौशाला लगायतका जिल्लामा रहेका सरस्वतीका मन्दिर तथा विद्यालयहरूमा आज बिहानैदेखि पूजा-आराधनाका लागि भक्तजन, विशेषगरी छात्रछात्राको घुइँचो लागेको छ।










