काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह (फुली) लगाइदिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई देशको ३३औं प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यक्रममा कार्कीले प्रहरी संगठनको मनोबल उच्च राख्दै पारदर्शिता, सुदृढ नेतृत्व र सामूहिक भावना अनुसार संगठनलाई अघि बढाउने प्रतिबद्धता जनाए।
पूर्व महानिरीक्षक चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधबार पूरा भएपछि उनी अनिवार्य अवकाशमा गएका थिए।
२०५४ साल चैतमा प्रहरी निरीक्षकका रूपमा सेवामा प्रवेश गरेका कार्कीको ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म उनी महानिरीक्षक रहनेछन्। हालसम्म उनी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखका रूपमा कार्यरत थिए। जेन–जी आन्दोलनपछि अस्तव्यस्त बनेको उपत्यकाको सुरक्षा संयन्त्रलाई व्यवस्थित बनाउन उनले गत भदौ २४ गतेदेखि उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
२०२९ साल साउनमा गुल्मीको मालिका गाउँपालिका (तत्कालीन गाविस) मा जन्मेका कार्की कुशल र क्षमतावान प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनलाई आईजीपीमा नियुक्त गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले सिफारिस गरेका थिए।
महानिरीक्षकका लागि कार्कीसँगै एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए। कार्की, अधिकारी र केसी सबैले २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।
कार्की २०६६ मंसिरमा डिएसपी, २०७४ साउनमा एसपी, २०७९ साउनमा एसएसपी, २०८१ कात्तिकमा डीआईजी र २०८२ वैशाखमा एआईजीमा बढुवा भएका थिए। हालै उनी प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका हुन्।









