काठमाडौं। स्थानीय प्रशासनको अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई नेपाल प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ।
शनिबार बिहानदेखि माइतीघर मण्डलामा जेनजी युनाइटेडका सदस्यहरूले प्रदर्शनका तयारी थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार स्थानीय प्रशासनको अनुमति बिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित झडप तथा प्रदर्शनकारीको सुरक्षामा जोखिम देखिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा परेकामध्ये २४ महिला र २६ पुरुष रहेको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
यसैबीच, जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा अनुमति माग्दा नदिइएको दाबी गरे।
उनका अनुसार, शान्तिपूर्ण रूपमा एकताको सन्देशसहित प्रदर्शन गर्न जाँदा प्रहरीले रोक्नु लोकतान्त्रिक अभ्यासविरुद्धको कदम हो।
“हामी जेनजीहरू एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावनासहित जाँदै थियौं। तर अनुमति नै दिइएन र प्रदर्शन अघि नै नियन्त्रणमा लिइयो,” कार्कीले भने।









