जेन-जीलाई विभाजन गर्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई सुदन गुरुङको चेतावनी


काठमाडौं – नेपालका संयोजक सुदन गुरुङले पुराना राजनीतिक दलहरूलाई जेन–जी पुस्तालाई विभाजित गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

बिहीबार माइतीघर मण्डलमा जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै गुरुङले पुराना दलहरू जेन–जीहरूको एकता कमजोर पार्ने रणनीतिमा लागेको आरोप लगाए।

उनका अनुसार, “जेन–जीहरूलाई कमजोर बनाउने उनीहरूको योजनालाई हामीले राम्रोसँग बुझेका छौं। जेन–जीलाई विभाजित गर्न खोज्ने नेताहरूले यस्तो भ्रम नराखे हुन्छ।”

गुरुङले हालका नेताहरू जेन–जीहरूको एकता भंग गरी युवाहरूमाझ “कांग्रेसै ठीक, एमाले नै ठीक” भन्ने मानसिकता फैलाउने प्रयासमा लागेको जिकिर गरे। उनले भने, “अब नेपाली नागरिक भएर सोचौं, एउटै झण्डा मुनि बसौं र देश विकासमा लागौं।”

उनले जेन–जी आन्दोलनका सबै कदमहरू रणनीतिक रूपमा अघि बढाइएका बताएका छन्। “हामी हरेक पाइला चाल्नुअघि हिसाबकिताब गरेर अघि बढ्छौं। अहिले हामीलाई छुट्याउन खोज्नेहरूले नेपालीहरूलाई नै छुट्याउनुपर्छ, तर त्यो ताकत उनीहरूमा छैन,” गुरुङले भने।

जेन–जी अगुवाहरूमध्ये को राम्रो, को नराम्रो भन्ने भ्रम फैलाउने कार्यमा दलका नेताहरू लागेको भन्दै उनले आक्रोश व्यक्त गरे। “नराम्रो हामी होइनौँ, नराम्रो त ती नेताहरू हुन्, जसले दशौँ वर्षदेखि देश बिगारिरहेका छन्,” उनले भने।

अन्त्यमा उनले जनतालाई अब सोच परिवर्तन गर्न आग्रह गर्दै भने, “अहिलेसम्म नागरिकहरूले ती नेताहरूलाई नचिनी भोट हाल्दै आएका छन्, अब सोच परिवर्तन नगरेसम्म समाज परिवर्तन सम्भव छैन।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको