बर्दिबास। यमपञ्चक अर्थात् तिहारको अवसरमा आज गाई–गोरु तथा गोवर्द्धन पूजा गरिँदैछ। वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र तथा मातृस्वरूप मान्दै पूजा गर्ने चलन प्राचीन कालदेखि रहिआएको हो। गाईको दूध आमाले खुवाएको दूधसरह पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनेर सम्मान गर्ने प्रथा रहेको छ।
स्थानीय जातका गाईको जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा अवशोषण गरी दूध, गहुँत र गोबरका माध्यमबाट मानिसलाई शक्ति प्रदान गर्छ भन्ने कुरा आधुनिक विज्ञानले पनि प्रमाणित गरेको बताइन्छ। धार्मिक विश्वासअनुसार आजको दिन गाईलाई मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिहार अन्तर्गत हिजो कुनै विशेष कर्म नपरेको भए पनि कतिपय स्थानमा हिजो नै गाईपूजा गरिएको छ। आज गाईसँगै गोरु, किसान र हलोको पनि पूजा गर्ने परम्परा रहेको छ। आँगन लिपपोत गरी गाईको गोबरले बनाइएको सानो पर्वतलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ। यो पर्व कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइन्छ।
यस दिन गोरुलाई पूजा गरी मीठा परिकार खान दिइन्छ भने वर्षभर खेत जोत्ने हली र कृषि कार्यमा संलग्न किसानलाई पनि सम्मानपूर्वक पूजा गरिन्छ। यही कारणले आजको दिनलाई ‘हली तिहार’ पनि भनिन्छ।
यसअघि अस्ति बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिएको थियो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथिको घटबढका कारण यस वर्ष तिहार पाँच दिनका सट्टा छ दिनसम्म लम्बिएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिन अर्थात् कात्तिक १ गते (शनिबार)देखि सुरु भएको तिहार भोलि भाइटीकासँग सम्पन्न हुनेछ।
समितिका सदस्यका अनुसार भोलि बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ, तर दिनभर नै टीका लगाउन सकिने बताइएकाे छ।










