जनमत पार्टीले सामाजिक सञ्जालमा अनुशासन र संयमता अपनाउन आह्वान


आधिकारिक सूचना बाहेक भ्रम फैलाउने गतिविधि निषेध

२४ असोज, राजविराज – चन्दन रजक। जनमत पार्टीले पार्टीसँग आबद्ध सबै तहका सदस्य, कार्यकर्ता तथा समर्थकहरूलाई सामाजिक सञ्जाल (जस्तै Facebook Page/Profile, WhatsApp, Messenger, Viber समूह आदि) प्रयोग गर्दा संयमता र अनुशासन पालन गर्न विशेष निर्देशन जारी गरेको छ।

केन्द्रीय कार्यकारिणी समितिको तर्फबाट जारी सूचना अनुसार, पछिल्लो समय पार्टीका नाममा विभिन्न अनौपचारिक समूह र पेजहरूबाट भ्रम सिर्जना हुने गतिविधि देखिएकाले स्पष्टता ल्याउन यो कदम चालिएको हो।

सूचनामा जनाइएको छ कि कुनै पनि पार्टी वा शुभेच्छुक संगठनका नाममा पेज वा समूह सञ्चालन गर्नुअघि सम्बन्धित समिति वा नेतृत्वको अनुमति लिनु अनिवार्य हुनेछ। बिना स्वीकृति बनाइएका पेज वा समूहहरूलाई पार्टीले मान्यता नदिने जनाएको छ।

पार्टीका केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समिति संयोजक ई. नरेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

पार्टीको नाम र छविलाई आघात पुग्ने कुनै पनि टिप्पणी, आरोप-प्रत्यारोप, कटाक्ष वा विवाद उत्पन्न गर्ने अभिव्यक्ति नगर्न सबैलाई अनुरोध गरिएको छ। आवश्यक सूचनामात्र प्रचार गर्ने र व्यक्तिगत टिप्पणीहरू नगर्ने नीति अपनाइनेछ।

साथै, सूचनामा भनिएको छ कि जिल्ला, पालिका वा वडा तहका पेज/ग्रुपहरूमा सम्बन्धित पदाधिकारीको अनुमति र निगरानी अनिवार्य हुनेछ। यस नियमको उल्लंघन गर्नेहरूलाई पहिलोपटक चेतावनी दिइने र दोस्रोपटक अनुशासनात्मक कारबाही गर्दै पेज वा समूह नै डिसमिस गर्न सकिने उल्लेख गरिएको छ।

जनमत पार्टीले यो पहललाई पार्टीभित्रको सञ्चार शुद्धता र संगठनात्मक अनुशासन सुदृढ गर्ने कदमका रूपमा व्याख्या गर्दै, सदस्यहरूबीच एकता, स्पष्टता र जिम्मेवार सामाजिक सञ्जाल प्रयोगको सन्देश दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको